काठमाडौं, कात्तिक १८ । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले भने १५ लाख रुपैयाँ खर्च गर्न पाउँने भएका छन्।
मंसिर १४ गते प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुरमा एकरएक क्षेत्र निर्वाचन हुँदैछ । उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न पाउँछन् ।
उपमहानगरको वडाध्यक्षले २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार र वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि कात्तिक २१ गते दलहरूले उम्मेदवार मनोनयन गरिसक्नुपर्छ ।
उपनिर्वाचन गराउनका लागि अर्थ मन्त्रालयले आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो। आयोगले उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृत कार्यालय खुलिसकेको छ ।
स्थानीय तहमा मात्रै उपनिर्वाचन हुने ३३ जिल्लामा बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने आयोगको तयारी छ ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि चार लाख ५४ हजार ११४ मतदाता छन् भने २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र छ ।