२०८१ बैशाख ८ गते शनिवार

देव बैंकको १८ करोड हिनामिना प्रकरण – सिइओ पनि फरार


दाङ,कात्तिक ३ । देव बैंकमा भएको १८ करोड रकम हिनाहिना प्रकरण वारे प्रहरी अनुसन्धान पुरा भएको छ । प्रहरीले पक्राउ परेका मध्य १४ जनालाई झन्डै ६० दिन थुनामा राखेर अनुसन्धान पछि आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन अन्तरगत ६० दिन थुनामा राखेर अनुसन्धान पुरा गरेको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

यअसघि बैंकको ठूलो धनरासी हिनामिना गरेको मुद्दाका आधारमा प्रहरीले भदौ ३ गते बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थित तत्कालिन बैष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट १७ करोड ९९ लाख ९० हजार रुपैंया हिनामिना गरेको उजुरी पछि बैंकका म्यानेजरलाई पक्राउ गरेको थियो।

घोराही १० नारायणपुर निवासी म्यानेजर बुढाथोकीको बयानका आधारमा प्रहरीले त्यसपछि विभिन्न समयमा थप १४ जनालाई पक्राउ गरि अनुसन्धान गरेको थियो । यो बीचमा तीन जना तारेखमा छुटेका थिए । उनीहरु पनि तारेखमा छुटेको तर सफाई नपाएको हुँदा दोषी देखिए फेरि पक्राउ गर्नुपर्ने अवस्था आउन सक्ने प्रहरीले बताएको छ । प्रहरी प्रतिवेदनमा झन्डै ५० देखि ६० जनालाई रकम हिनामिना प्रकरणमा दोषी देखाइएको छ ।

राष्ट्र बैँक,सिआईबी र जिप्रका दाङले घोटाला प्रकरणको अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा सिईओ, बैँक सञ्चालकको खाता नै रोक्का गरिएको थियो । प्रहरीले आफुले पुरा गरेको अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको हुँदा त्यो फाईल आइतवार अदालतमा पेश हुने प्रवल संभावना छ ।

आफुहरुले दोषीहरु पहिचान गरि फाईल बुझाइ सकेको हुँदा अब बाँकी काम सरकारी वकिलको हुन आउने एसपी भट्टराईले बताए । सरकारी वकिलले (आज) आइतवार प्रहरीले तयार पारेको अनुसन्धानको फाइल उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा पेश गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

तर ती व्यक्तिको नाम भने अदालतमा फाईल पेश भएपछि मात्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ। करिब १८ करोड हिनामिना गरेको घटना बाहिरएदेखि नै बैंकका सिईओ खिमबहादुर डिसी फरार छन् । डिसी विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

दशैंको अवधिमा सिईओ डिसीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको भएपनि उनी फेला नपरेको जिल्ला प्रहरी जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

घोराही उपमहानगर १० स्थित नारायपुर बजारमा रहेको बैंकको शाखाबाट कर्जा स्वीकृती नगराई गलत उदेश्यले ऋण प्रवाह गरेको आरोप म्यानेजर बुढाथोकीमाथि लागेको छ। वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा मात्रै देव विकास बैंकसँग गाभिएको थियो। बुढाथोकी २०६७ सालदेखि वेष्टर्न डेभेलपमेण्ट बैकमा म्यानेजरका रूपमा कार्यरत थिए।

म्यानेजर बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरेर व्यक्तिगत लाभका लागि गैर कानुनी काम गरेको अभियोग लागेको छ। मिलेमतोमा नक्कली ऋणि खडा गरि बैंकको ठूलो धनराशी घोटाला गरेको प्रहरीले यसअघि नै बताइ सकेको छ।

त्यसमा बैंकका सिइओ, लोन अधिकृत, बैंक सञ्चालकको लोन समितिको पनि मिलेमतोको आशंका गरिएको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *