लिलाधर वली,
दाङ,३० असोज ।नेकपाका नेता युवराज ज्ञवालीले जनतालाई विकासको अनुभुति गर्ने गरि काम गर्न नसके जनताले साथ छोड्ने बताएका छन । नेकपा दाङले घोराहीमा आयोजना गरेको दशै, तिहार, छठ पर्व र नेपाल संवतका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन ।
जनतालाई विकासको अनुभुति गर्ने गरि काम गर्न नसक्दा काग्रेसलाई जनताले छोडेको भन्दै नेता ज्ञवालीले कम्युनिष्ट सरकारले अहिले काम गर्न नसके जनताले साथ छोड्ने बताएका हन । नेपालमा राजनीतिक परिवर्तनमा पञ्चायत, कांग्रेस र कम्युनिष्टहरुको ठुलो योगदान रहेपनि जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा जनताले साथ छोडेको बताए ।
नेता ज्ञवालीले पछिल्लो समयमा राजनीति ब्यापारको रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । त्यस्तै नेता ज्ञवालीले अबको नेपाली जनताको ठुलो शत्रु भ्रष्टाचार भएको बताए । विगतमा राजनीतिक सत्ता परिवर्तनका लागि क्रान्ति भएको भन्दै उनले अव अव नेपाली जनता भ्रष्टाचारका विरुद्धमा लड्नुपर्ने बेला आएको बताए ।
सवैलाई स्वीकार्य हुनेगरि प्रदेशको मुकाम तोकिन्छ – मन्त्री केसी
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश ५का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका सवै जनतालाई मान्ने हुने गरि प्रदेशको नामाकरणसँगै मुकाम तोकिने बताएका छन । ‘प्रदेशका सवै जनतालाई मान्य हुने गरि प्रदेशको नामाकरण र मुकाम तोक्नका लागि काम भैरहेको छ’,उनले भने,‘प्रदेशको नामाकरण र मुकाम तोक्दा त्यो बेला कोही जनता सडकमा आउनुपर्ने छैन ।’ त्यस्तै उनले प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले तीन मेघासिटीका रुपमा विकास गर्न लागेको समेत बताए ।
प्रदेश सरकारको पञ्चबर्षीय योजना अनुसार बुटवल–भैरहवा शहर, घोराही–तुलसीपुर शहर र कोहलपुर–नेपालगंज शहरलाई महानगरका रुपमा विकास गर्ने गरि काम भैरहेको समेत बताए । त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राजनीतिक रुपमा दाङका पाटीहरु फरकफरक ठाउँमा भएपनि जिल्लाको विकासका लागि एक ठाउँमा आउनुपर्ने बताएका थिए । विगतमा राजनीतिक परिवर्तनका लागि काग्रेस,एमालेलगायतका दलहरु एक ठाउँमा आउने गरेको भन्दै उनीहरुले संघीयता र संविधान कार्यान्वयन संगै दाङको विकास लागि दलहरु मिल्नुपर्ने बताएका थिए ।
नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’, नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जीवन गौतम, नेकपा दाङका संस्थापक सचिव नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल,नेकपाका प्रदेश समितिका सल्लाहकार तथा प्रदेशसभा सदस्य अमरबहादुर डागी, नेपाली काग्रेस दाङका उपसभापति कमानसिंह भारति, नागरिक समाज दाङका संयोजक चन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रेस स्वतन्त्र सेनानी सुशील गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेकपा दाङका कार्यदल सदस्य पुनम शेरपाईलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण नेकपा दाङका सचिव तुलसीराम पुन ‘सुवास’ले गरेका थिए । कार्यक्रममा दंगाली जादुगर प्रभु चौधरीले जादु प्रस्तुत गरेका थिए ।