२०८१ साउन ९ गते बुधवार

महरालाई थप तीन दिन थुनामा राख्न आदेश


काठमान्डौं, असोज २८ । काठमाडौं जिल्ला अदालतले बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि मंगलवार त्यो अनुमति प्रदान गरेको हो ।

सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो। महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नु पर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा माग गरेका थिए । तर वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटा लगायतले महरालाई रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए।

महरा दस दिन हिरासतमा बसिसकेका छन्। दसैं बिदा परेकोले मंगलवार मात्रै महरालाई अदालत उपस्थित गराइएको थियो । महरामाथि संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेपछि प्रहरीले उनलाई निवासवाटै असोज १९ गते पक्राउ गरेको थियो ।

प्रहरीले महराविरूद्ध बलात्कार गर्न खोजेको आरोप लगाएकी कर्मचारीको कोठाबाट बरामद भएका महराका चस्मा, जुत्ताको तलुवा लगायतका सामग्री परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट भने आउन बाँकी छ। असोज १२ गते महरा रक्सीको बोतल बोकेर तीनकुनेस्थित एक जना संसद सचिवालयकी कर्मचारी डेरामा पुगेको तथा मदिरा सेवन पछि ती कर्मचारी माथि बलात्कारको प्रयास गरेको अभियोग लागेको छ । चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका थिए । तर सांसदबाट भने राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : २०७६ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *