छवि पुरी, घोराही, असोज १७ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले युवा पुस्ता कुलतमा फस्दै गएको प्रति समाज सचेत हुनुपर्ने आवश्यकता औंल्याएकी छन् अहिले मनोरञ्जनका नाममा मादक पदार्थ सेवन गर्ने र सवारी साधन चलाउँदा आफुमात्रै नभई अरुलाई पनि जोखिममा पार्ने गलत संस्कारको विकास भईरहेको प्रति चिन्ता जाहेर गर्दै सांसद देवकोटाले त्यो आम चासोको विषय बन्न जरुरी रहेको तर्क गरिन ।
घोराहीको ईन्द्रेणी एफएमले शुक्रबार आयोजनाको गरेको शुभकामना आदान प्रदान एवम् चाड पर्वमा हुन सक्ने सवारी दुर्घटना तथा आपराधिक घटना न्यूनिकरणमा सरोकार निकायको प्रतिवद्धतासम्बन्धी कार्यक्रममा प्रमुख अतिथि सांसद देवकोटाले त्यस्तो बताएकी हुन ।
समाजमा घट्ने हिंसा वा घटनामा पछिल्लो समय युवा पुस्ताको संलग्नता बढ्दै जानु सिंगो समाजका लागि चुनौतिपूर्ण रहेको भन्दै नेपाली काँग्रेसकी नेतृ समेत रहेकी देवकोटाले त्यो न्यूनिकरण गर्न सामुहिक प्रयास गर्न आवश्यक रहेको बताएकी हुन । त्यस्तै उनले सवारी चाप र बढ्दो जनसंख्या अनुरुप सडकको अवस्था सुधार र बिस्तार गर्न अपरिहार्य रहेको औंल्याइन ।
‘वर्षौं अघि बनाइएका सडकले अहिलेको चाप धान्ने अवस्था अब छैन,’ सांसद देवकोटाले भनिन् ‘ त्यसका लागि अब राज्यले अबिलम्ब पहल गर्नै पर्छ।’ पर्वका बेला मानिसको चहल पहल अन्य अवस्थामा भन्दा बढी हुने भएकाले हरेक दृष्टिकोणबाट सडक, सवारी र सामाजिक दुर्घटनाको जोखिम बढी हुने हुँदा सचेतनाको लागि मात्रै नभएर समाज नै चनाखो बन्न आवश्यक रहेको उनले बताइन ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय दाङमा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले प्रशासनको तर्फबाट पूर्व लक्षित मात्रै नभई जहिले पनि समाजलाई कसरी सभ्य र पारिवारीक बनाउन सकिन्छ भन्ने चिन्तामा प्रहरी प्रशासन रहने बताए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले पछिल्लो समय जिल्लामा मानवीय अपराध गर्ने क्रम नभए पनि लागु औषध दुव्र्यसन संलग्न हुनेको क्रम बढेको हुँदा घर परिवार र समाज थप सजग बन्नु पर्ने समय आएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु भनेको आत्महत्या गर्नु सरह हुन जाने भएको हुँदा सचेत रहन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले पछिल्लो समय प्रेस स्वतन्त्रता विरोधी गतिविधि भएको प्रति चिन्ता जाहेर गर्दै राज्यले त्यसमा ध्यान दिन आवश्यक रहेको बताए । सिंगो पत्रकारितालाई धमिल्याउने र अनेकन बहानामा बदनाम गराउन खोज्ने चेष्टा भएको प्रति आपत्ति जनाए ।