२०८१ असार १० गते आइतवार

राष्ट्रपति भण्डारीद्वारा छठी माताको मूर्तिमा पूजाआराधना


छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ गुह्येश्वरी मन्दिरस्थित गौरीघाट पुगेर वाग्मती नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गर्नुभयो ।

सो अवसरमा उहाँलाई श्री छठ पूजा समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ । लाखौँ भक्तजनले आज बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताउनुभयो । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

बुधबार छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मी लगायतको सहभागिता रहने जनाइएको छ । चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *