२०८१ असोज २९ गते मङ्गलवार

सभामुख महराको सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता


सिचुवान, असोज ११ । सभामुख कृष्णबहादुुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा सभामुख महराले भौगोलिक रुपमा नेपालसँग नजिक रहेको सिचुवान प्रान्त र नेपालको सम्बन्ध राजनीतिक तथा साँस्कृतिक हिसाबले विशिष्ट किसिमको रहेको बताउनुभयो । नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ नियमित र सुदृढ गर्न छेन्दूमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको बताए ।

निकट भविष्यमै चीनका राष्ट्रपति सि चिनफिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै सभामुख महराले सरकारले भ्रमणको तयारी तीव्रताका साथ गरिरहेको जानकारी दिएका थिए । उनले जनवादी गणतन्त्र चीनको ७० औं वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरे । दुई देशबीचको सम्बन्ध झनै मजबुत र बलियो बन्नेमा विश्वास महराले व्यक्त गरे ।

बेल्ड एण्ड रोड परियोजना सम्बन्धी सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको जनाउँदै सभामुख महराले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार बनाउन पनि सबैसँग सहकार्य गर्दै अघि बढाउने बताए । सिचुवान प्रान्तको भूकम्प प्रभावित क्षेत्र र त्यहाँको पुनर्निर्माणको आफूले अवलोकन गरेको बताउँदै सभामुख महराले नेपालको भूकम्पका बेला चीनले उद्धार एवं राहतका लागि गरेको योगदानको प्रशंसा गरे ।

सो अवसरमा सीपीसीका सिचुवान प्रान्त सेक्रेटरी पेङले चीन–नेपालबीचको सम्बन्ध सयौं वर्ष पुरानो रहेको बताउँदै दुई देशका सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनताबीच विशिष्ट सम्बन्ध रहेकोमा खुसी व्यक्त गरेका थिए । चीनका राष्ट्रपति सिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन् उँचाइमा जाने विश्वास गर्दै पेङले चीनको तिब्बतबाट शुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने विश्वास व्यक्त गरे ।

सभामुख कृष्णबहादुर महराले बेइजिङमा त्यसअघि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *