२०८२ मङ्सिर १९ गते शुक्रवार

१६ किलो सुन प्रकरण : ३५ करोड रूपैयाँभन्दा बढी जरिवाना र छ वर्ष कैद माग

वीरगञ्ज, भदौ १९ । राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध ३५ करोड रूपैयाँभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।

गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले ३५ करोड ६६ लाख ७२ रूपैयाँ हजार जरिमाना माग गरेको हो ।

१६ किलो सुन काण्ड : राजश्व अनुसन्धान विभागद्वारा अनुसन्धान शुरु
विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उनले बताए ।

‘अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ’, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले भने, ‘प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।’

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।

प्रतिवादी गुरुङले बयान क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन् ।

गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ ।

बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । रासस

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *