
दाङ, भदौ १४ ।
जिल्लाका दश स्थानीय तहमध्ये दंगीशरण गाउँपालिकाले मात्रै थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्वजनिक बिदा दिएको छ । दंगीशरणसँगै सिमाना सटेको तुलसीपुर उपमहानगरपालिकाले भने शैक्षिक संस्थाहरुमा मात्रै बिदा दिएको छ । जिल्लाका अन्य स्थानीय तहहरुले कतै यस्तो बिदा दिइएको छैन ।
दंगीशरण गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिकाको बैठकले आइतबार थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष पीमा खड्काले ऐतिहासिक थारु राजाको दरबार क्षेत्र पर्ने भएको तथा थारु समुदायको सघन बसोबासको क्षेत्र भएको हुँदा गाउँपालिकाभरी नै सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिइन् ।

थारु समुदायले अट्वारी पर्वलाई धुमधामपूर्वक मनाउने गर्छन् । तर प्राचिन थारु राजा दंगीशरणले राजकाज चलाएको क्षेत्र सुकौराकोट दरबार भने तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा पर्ने गर्छ । जहाँ आजभन्दा झण्डै २५ सय वर्ष पहिले थारु राजा दंगीशरणले साशन सत्ता सञ्चालन गर्ने गरेको थारु अगुवाहरुले बताउँदै आएका छन् ।
हाल भने उक्त सुकौराकोट दरबारको नाम निशान केही छैन । यद्यपि दरबार रहेको भनिएको डाँडोलाई तारवार गरि संरक्षणको प्रयास राज्यले गरेको छ । पुरातत्व विभागले केही वर्ष पहिले उत्खनन् गर्दा त्यहाँ दंगीशरण राजाले प्रयोगमा ल्याएका सिक्काहरु फेला परेका थिए । त्यस्तै त्यतिबेला निर्मित दरबारका भग्नावशेषसमेत फेला परेका थिए । फेरि त्यो प्राचीन दरबारको विस्तृत रुपमा उत्खनन्, अध्ययन र अनुसन्धान हुन सकेको छैन ।
तस्विरः सन्तोष दहित