
दाङ, भदौ ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोमवार अभियानका संयोजक विकिरण गौतमले एक विज्ञप्ति प्रकासित गर्दै थप संघर्षका कार्यक्रमहरु गर्न लागेको जानकारी दिएका छन् । आइतवार मात्रै उनले प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको राजिनामा माग गरेका थिए । जसमा २४ घन्टे अल्टिमेटम दिइएको थियो । उनीहरुले भनेको समयमा उपकुलपतिले राजिनमा नदिएपछि थप संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।
गौतमले जारी गरेको विज्ञप्तिमा उपकुलपतिले प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प पार्ने गरी अधिकांश चिकित्सकलाई अवकाश दिएको प्रति असन्तुष्टि व्यक्त गरिएको छ ।
यस्ता छन् समितिले निर्णय गरेका संघर्षका नयाँ कार्यक्रमहरु
१- सामाजिक मुद्दामा विगतमा पनि जिल्लामा क्रियाशिल संघसंस्थाले सहकार्य गर्दै आएको अवस्थामा हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्याका विषयमा पनि अन्य संघसंस्थासंग सहकार्य गरी अघि बढने निर्णय गरियो । साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरी संस्थागत रुपमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्ने ।
२- मिति २०७६÷०५÷१० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीको कार्यालय, संघिय सभामुखको कार्यालय, संघिय स्वास्थ्य मन्त्रीको कार्यालय र ५ नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालय समक्ष ज्ञापन पत्र पेश गर्ने ।
३- २०७६÷१०÷११ गते जिल्लामा क्रियाशिल स्वास्थ्य संग सम्बन्धित संघसंस्था संग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्याका विषयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा दिँउसो १२ बजे छलफल कार्यक्रम आयोजना गर्ने ।
४ं- २०७६÷१०÷१२ गते जिल्लाका सम्पूर्ण पक्षसंग सर्वदलिय सर्वपक्षिय छलफल कार्यक्रम पत्रकार महासंघको भवनमा दिउँसो १२ बजे आयोजना गर्ने ।
५- १२ गते सम्म पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्बन्धित समस्या समाधान नभए २०७६÷१०÷१३ गते दोस्रो चरणका कडा संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको बैठक पछि संघर्ष समितिका संयोजक गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
