
फाइल तस्बिर
दाङ, साउन २६ । इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा नेपालसहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना दिएका छन् । बकर इदको पूर्व सन्ध्यामा महराले एक बक्तत्व जारी गर्दै सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
‘त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको छु,’ महराले भनेका छन् ।
मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको उनले उल्लेख गरेका छन् । यस्ताखाले सेवाभावका कार्यहरु हामी सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जाने महराले विश्वास व्यक्त गरेका छन् ।
‘हाम्रोजस्तो बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न सबै धर्मका यस्तै सामाजिक दर्शन र चिन्तनले प्रेरणा प्रदान गर्दछन्,’ महराले उल्लेख गरेका छन् ।
विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरुले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने महराले विश्वास व्यक्त गरेका छन् ।
