
दाङ, २५ साउन ।
नेघोराही, २५ साउन । नेपाल पत्रकार महासंघको दाङको घोराहीमा सम्पन्न गोष्ठीले पत्रकार महासंघको सदस्य भई हाल क्रियाशील नभएका पत्रकारहरुलाई स्वयम् सदस्य त्यागको लागि आग्रह गरेको छ । गोष्ठीले पत्रकार महासंघको सदस्यता लिएर अन्य ब्यवसायमा रहेकाहरुका लागि सदस्यता त्याग गरेर महासंघको शुद्धिकरणलाई सहयोग गर्न आग्रह गरेको हो ।
शुक्रबारदेखि दाङको घोराही सुरु भएको गोष्ठीले शनिबार ११ बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार आचारसंहितामा रहेर स्वनियम र पत्रकारितालाई मर्यादित बनाई व्यवसायिक पत्रकारितालाई जोगाई राख्न आग्रह गरेको छ । यस्तै गोष्ठीले प्रेस स्वतन्त्रलाई रक्षा गरी श्रमजीवि पत्रकार ऐन अनुसार पत्रकारहरुलाई पारिश्रमिक दिन सञ्चार माध्यमलाई सुझाव दिएको छ ।
यस्तै मिडिया काउन्सिल संविधानको भावनाविपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघसँग भएको सहमति अनुसार जारी गर्न आग्रह गरिएको छ । त्यस्तै स्थानीय र साना लगानीका सञ्चारमाध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहल गर्न अपिल गरेको छ ।
प्रदेश नम्वर ५ का १२ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको गोष्ठीले पत्रकार तथा शहीद कृष्णसेन इच्छुकको सम्मान र सम्झनामा उनको गृह जिल्लामा नाममा सञ्चार संग्राहलय तथा सञ्चार पार्क स्थापना गर्न र लमही–तुलसीपुर सडक खण्डलाई कृष्णसेन इच्छुक मार्ग घोषणा भइसकेकोले व्यबहारिक कार्यान्वयन गर्न माग गरेको छ ।
पत्रकार महासंघको वर्तमान भूमिका र अबको कार्यदिशा
दाङ घोषणा पत्र–२०७६
१. पत्रकार आचारसंहिताप्रति प्रतिवद्ध रहन सबै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्यादित र व्यवसायीक वनाउन सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीमा यो भेला आग्रह गर्दछ । पत्रकारितामा क्रियाशील नभएर अन्य पेशा, व्यवसायमा सक्रिय नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुलाई महासंघको सदस्यता त्याग गर्ने स्वघोषणा गरी शुद्धिकरण अभियानमा सहयोग पु¥याउन सबैमा यो भेला हार्दिक आग्रह गर्दछ ।
२. प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागू गर्ने सवालमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै न्यूनतम पारिश्रमिक समयानुकूल परिमार्जन गरी लागू गर्न यो भेला माग गर्दछ ।
३. सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका कतिपय बुँदाले संविधानको प्रस्तावनामा उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको भावना कुण्ठित हुने देखिएकोले त्यस विधेयकलाई महासंघलगायत सरोकारवालासँग व्यापक छलफल गरी नेपाल पत्रकार महासंघसँग भएको सहमति अनुसार परिमार्जन गर्न सरकारसँग यो भेला जोडदार माग गर्छ । साथै, प्रदेश र स्थानीयतहसम्म सञ्चार सम्बन्धी कानूनहरु बनाउन जरुरी रहेकाले यथासक्य त्यस्ता आवश्यक कानूनहरु बनाउन सम्बन्धित सबै तहहरुलाई यो सम्मेलन हार्दिक आग्रह गर्दछ । त्यस्ता कानूनहरु बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्न भेला माग गर्दछ ।
४. स्थानीय र साना लगानीका सञ्चार माध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपिल गर्दै यो भेला समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।
५. रेडियो नेपालले दाङबाट प्रदेशस्तरीय प्रशारण र नेपाल टेलिभिजनले बाँकेबाट प्रदेशस्तरीय प्रशारण सुरु गरेकोमा प्रशंसा गर्दै गोरखापत्र, सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) तथा अन्य सञ्चार माध्यमहरुलाई पनि प्रादेशिक सेवा शुरु गर्न भेला आग्रह गर्दछ ।
६. प्रेस काउन्सिल नेपालबाट हुँदै आएको पत्रपत्रिका वर्गीकरण तथा नियमन कार्य प्रदेशस्तरबाट गर्ने व्यवस्था गर्न यो भेला जोडदार माग गर्दछ । साथै प्रदेशस्तरबाटै पत्रकार परिचयपत्र वितरण र जिल्लाबाट नवीकरणको व्यवस्था मिलाउन भेला माग गर्दछ साथै अनलाईनहरु जिल्लामै दर्ता तथा नवीकरण तथा नियमन गर्ने संयन्त्र स्थापनाको पनि यो भेला माग गर्दछ । लोककल्याणकारी विज्ञापन शुल्क समायनुकूल वृद्धि गर्न र भुक्तानी जिल्लाबाटै प्रदान गर्ने व्यवस्था मिलाउन पनि यो भेला माग गर्दछ ।
७. पत्रकारहरुको क्षमता बृद्धिका लागि प्रादेशिकस्तरमा आमसञ्चार प्रतिष्ठान अबिलम्व गठन गर्न आग्रह गर्दै श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षासँगै संस्थागत विकास तथा भौतिक विकासका लागि सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि प्रदेश सरकार र स्थानीय तहहरुलाई यो भेला आग्रह गर्दछ ।
८. विधानमा व्यवस्था भएबमोजिम नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई प्रदान गरिएको अधिकार क्रमशः कार्यान्वयनमा लैजाने वातावरण मिलाउन भेला आग्रह गर्दछ ।
९. पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउन महिला, दलित, जनजाति, मधेशीलगायत समाजका सबै पक्षलाई समेट्ने गरी संख्यात्मक तथा गुणात्मक क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउन केन्द्र तथा प्रदेश समितिलाई यो भेला अनुरोध गर्दछ ।
१०. पत्रकार तथा शहीद कृष्ण सेन इच्छुकको सम्मान र सम्झनामा उहाँको गृह जिल्लामा उहाँको नाममा सञ्चार संग्राहलय तथा सञ्चार पार्क स्थापना गर्न र लमही तुलसीपुर सडक खण्डलाई कृष्ण सेन इच्छुक मार्ग घोषणा भइसकेकोले व्यवहारिक कार्यान्वयनमा ल्याउन सरोकारवालाा सबैमा यो भेला माग गर्दछ । साथै सञ्चारउद्यमी देविप्रसाद धिताललगायत विभिन्न समयमा हत्या गरिएका र पत्रकार बेपत्ता पारिएका घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कारवाही गर्न यो भेला सरकारसँग जोडदार माग गर्दछ ।
११. नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा दुई दिनसम्म चलेको यो भेला भब्यरुपमा सम्पन्न गर्न सहयोग र योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ । साथै यो भेलाको न्यानो आतिथ्यताका लागि नेपाल पत्रकार महासंघ दाङ शाखालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।