२०८१ बैशाख २२ गते शनिवार

नेपालले आज हङकङसँग क्रिकेट खेल्दै

काठमाडौं ,फागुन २६ । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल अहिले केही बेरमा मोंग कोकमा सुरु हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।

नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन् ।

हङकङ भ्रमण युवाहरुको लागि राम्रो अवसर हुनेछ । विवेक यादव र सन्दीप जोरा दुई फिनिसरमाथि नेपालले बढी ध्याान दिने देखिन्छ ।

युवा अलराउन्डर राशिद खानलाई पनि पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हुनेछ । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र करण केसी नेपालका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनमा नेपाल धेरै निर्भर हुनेछ । नेपालको मुख्य उद्देश्य नै युवा खेलाडीको क्षमता परीक्षण गर्ने हुनेछ ।

उता हङकङका दक्षिण अफ्रिकी मुलका मार्टिन कोट्जीले एक हप्ताअघि कतारविरुद्ध १०२ रनको शतकीय इनिङ खेलेका थिए । उत्कृष्ट लयमा रहेका कोट्जीको प्रदर्शन महत्वपूर्ण हुनेछ । कोट्जी, बाबर हायत, अंशुमन रथ र निजाकत खान प्रमुख ब्याटर हुन् । अनुभवी स्पिनर एहसान खान घातक बन्न सक्ने बलर हुन् । हरुन अर्शद र नसरुल्ला राना प्रमुख तीव्र गतिका बलर हुन् ।

नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । तर हङकङ घरेलु मैदान र कन्डिसनमा केही मजबुत हुनेछ ।

त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *