२०८१ असार ३ गते आइतवार

त्रिकोणात्मक टी-२० सिरिज ः आज नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै

काठमाडौँ,फागुन २२ ।घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स मंगलबार प्रतिस्पर्धा गर्दैछन्। टियू मैदान, कीर्तिपुरमा ११ ः ३० मा सुरु हुने फाइनलमा दुबै टिम उपाधि जित्दै सिरिजको सुखद अन्तको प्रतिक्षामा छन्।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै उपाधि जितेको थियो। २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो।

जारी सिरिजमा लिगचरणमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल पुग्दा नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो।

नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरियो। लिगका शीर्ष दुईमा रहने टिमले फाइनल खेलेका हुन्।

नेपाल लिगचरणमा नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। त्यसपछि खेलमा पुनरागमन गर्दै लगातार दुई जित निकाल्यो। नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको थियो। पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो।

नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० अन्तराष्ट्रिय भिडन्त भएका छन्, जसमा नेपाल समान ५-५ खेलमा जित र हार भोगेको छ। एक खेल नतिजाविहीन भएको छ। टियुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी-२० आई खेल भएका छन्, जसमा नेपाल ३ खेलमा विजयी भएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *