काठमाडौं,मंसिर २२ । नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानलाई जितका लागि १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पाकिस्तान सँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। नेपालका लागि केवल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाएका थिए।
दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमाएपनि त्यसपछि उतम थापा मगर र दिपेश कँडेलले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई केही समालेका थिए।
कँडेल ५९ बलमा ३१ रन बनाएर आउट हुँदा मगरले भने अर्धशतकीय इनिङ खेले। उनले ७६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन कुमालको २१ रन रह्यो।
पाकिस्तानका लागि मोहम्मद जेसनले ५ विकेट लिंदा अमिर हसनले २ तथा उबाइड साहले १ तथा अली अस्फान्दले १ विकेट लिएका थिए।
त्यसअघि नेपालका आशा गरिएका सुरुवाती क्रमले भने निरासाजनक प्रदर्शन गरेका थिए। तिलक भण्डारी, आकाश त्रिपाठी, कप्तान देव खनाल, गुल्सन झा लगायतका खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्।
नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूहमा शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने चुनौती नेपाललाई रहेको छ। दुबै टिमलाई आजको खेल हारेमा बाँकी दुबै खेल जित्नु पर्ने भएकाले पहिलो खेलनै ‘गर या मर’ का रुपमा रहेको छ।
पाकिस्तानलाई नेपालले पछिल्लो पटक उमेर समूहमा २००२ को जनवरीमा यू-१९ विश्वकपका दौरान पराजित गरेको थियो। त्यसयताका २१ वर्षमा थप चार पटक प्रतिस्पर्धा भएपनि सबै खेलमा नेपाल पराजित भएको छ।