काठमाडौँ,कात्तिक ६ । नेपाली राष्ट्रिय क्रिकेट टीमले विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको चौंथो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै छ। डबल राउन्ड रोविनको आधारमा भएको खेलको अन्तिम खेलमा नेपाल युएईसँग भिड्न लागेको हो।
११ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न मैदान उत्रिंदा युएई भने नेपाललाई हराएर एक खेल अगावै फाइनल पुग्न चाहन्छ। नेपाल भने यसअघिनै फाइनल पुगिसकेको छ। नेपाल सुरुवाती तीन खेलमा रवाफिलो जितसहित फाइनलमा पुगेको थियो।
प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो। लगातार तीन जितसहित नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ।
तीनै टोली विश्वकप छनोटको तयारीमा रहेकाले आफ्नो प्रदर्शन सुधार्दै प्रतियोगितामा होमिंदै छन्। यस्तोमा सिरिजमा नेपाली सिनियर टोली निकै उच्च लयमा देखिंदा विश्वकप छनोटमा सोही प्रदर्शन दोहोर्याउन सके १० वर्षपछि विश्वकप खेल्न सक्ने सम्भावना बलियो बनेको छ।
युएई नेपालसँग पराजित भएमा हङकङसँगको अन्तिम खेल उसका लागि निर्णायक हुने छ। हङकङ भने सिरिजका सबै तीन खेलमा पराजित भएकाले फाइनल सम्भावना कमजोर रहेको छ। युएई नेपालसँग आज पराजित भएमा र युएईलाई अन्तिम खेलमा हङकङले हराएमा नेट रनरेटका आधारमा फाइनल पुग्ने दोस्रो टोलीको तय हुने छ।