२०८० चैत्र १६ गते शुक्रवार

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई खेल्दै

काठमाण्डौ,फागुन २२ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।

आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ । लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेको छ।

तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया होडमा छन् । ३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँच वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउने अवसर बाँकी रहन्छ ।

नेपालले बाँकी पाँचमध्ये तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ । यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ । यूएई ३१ खेलबाट ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । समान खेलबाट नेपाल ३० अङ्कसहित छैटौँ स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *