२०८३ कार्तिक १२ गते बुधवार

संविधान संशोधनबारे छलफल हुँदा जोर्डनको संसदमा कुटाकुट

एजेन्सी । मध्य–पूर्वको मुलुक जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ। समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो।

जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका राजाले प्रधानमन्त्री नियुक्त गर्ने र संसद विघटन गर्ने अधिकार छ।

शाही आयोगले प्रस्ताव गरेको संविधान संशोधनमा प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई हुने उल्लेख छ।

आलोचकहरूले भने संविधानमा गर्न लागिएका अरू परिवर्तनहरूले राजालाई थप अधिकार दिने बताउँदै आएका छन्। संविधान संशोधन प्रस्तावलाई लिएर जोर्डनमा केही समय प्रदर्शनहरू पनि भएका थिए।

संविधान संशोधनमा महिलालाई पुरूष समान अधिकार दिने विषय पनि उल्लेख छ। महिलालाई अधिकार दिने विषयमा पनि सांसदहरू विभाजित छन्।

मंगलबारको संसद बैठकमा सुरूमा सांसदहरूले एकअर्कालाई शाब्दिक आक्रमण गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरू मुक्का हानाहानमा उत्रिएका हुन्। कुटाकुटमा कोही गम्भीर घाइते भने भएका छैनन्।

जोर्डनको पछिल्लो संविधान सन् १९५२ मा लागू भएको हो जुन अहिलेसम्म २९ पटक संशोधन भइसकेको छ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *