२०८१ बैशाख ६ गते बिहिवार

पाकिस्तानमा कोरोना सङ्क्रमित संख्यामा नयाँ रेकर्ड


इस्लामावाद, कात्तिक २४। पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुँदै गएको छ। सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन्। उनीहरूका अनुसार शनिबार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन्।

पाकिस्तानको राष्ट्रिय कमाण्ड तथा अप्रेसन सेन्टरले दिएको जानकारी अनुसार शनिबार एक हजार ५४३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो। पाकिस्तान अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १७ हजार ५२० रहेको अधिकारीहरूले जनाएका छन्।

मास्क नलगाई बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना तिराउने र एक हजार जनासम्म सहभागी भएर बैबाहिक कार्यक्रम गर्न पाइने व्यवस्था सरकारले गरेपछि आलोचना भइरहेका बेला सङ्क्रमितहरू बढ्दै गएको विवरण सार्वजनिक भएको हो।

सरकारले गत शुक्रबार मात्रै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिराउने र भेटेकै ठाउँमा तीन ओटा मास्क उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसैगरी हरेक सरकारी तथा निजी कार्यालयले ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै कार्यालयमा बोलाउन पाउने व्यवस्था पनि सरकारले गरेको थियो।

स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जाभेद अर्कामले मास्क लगाउनु पर्ने नियमको उलङ्घन भइरहेको र मास्क नलगाउनेलाई एक सय रुपैँया जरिवाना तिराउने नियम ठट्टा जस्तो मात्रै भइरहेको टिप्पणी गरेका थिए।

नियम उल्लङ्घन गर्नेलाई कम्तीमा दश हजार जरिवाना तिराउनु पर्ने उनको सुझाव छ। एजेन्सी

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *