२०८१ बैशाख १४ गते शुक्रवार

जनताको करमा कम्युनिष्टको भ्रष्टाचारः सभापति खड्का

दाङ, भदौ २४ ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले जनताले तिरेको करमा पनि चरम भ्रष्टाचार गरेको बताएका छन् । मंगलबार निर्वाचन क्षेत्र नं. ३ (क) अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा आयोजिक कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति खड्काले त्यस्तो आरोप लगाएका हुन् ।

‘हामीले कर तिरेका छौं, हाम्रै कर भ्रष्टाचार भएको छ’ सभापति खड्काले भने ‘हामीले कर तिर्ने हाम्रै सम्पत्ति सक्किने तर त्यसैमाथि भ्रष्टाचार गर्ने ? हामी नै विकास निर्माणबाट बञ्चित हुनुपर्ने ।’ उनले वडा तहदेखि नै व्यापक भ्रष्टाचार हुने गरेको भन्दै चनाखो भएर त्यसको भण्डाफोर गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

त्यस्तै उनले मुलुकमा हत्या, हिंसा, बलात्कारजस्ता कुराहरु बढे पनि अपराधिलाई कानुनी कारवाही गर्नुको साटो वर्तमान सरकारले उल्टै संरक्षण दिने गरेको आरोप लगाए । कम्युनिष्ट सरकारले स्वतन्त्र प्रेस, न्यायपालिका, सुरक्षा समेतमा हस्तक्षेप गर्दै अधिनायकवाद लाद्न उदृत रहेको भन्दै उनले आम देशबासी सचेत हुनुपर्ने समय आएको बताए ।

काँग्रेस जागरण अभियानले पार्टीभित्र रहेका आन्तरिक तिक्तता मेटाउँदै एउटा सवल र सक्षम पार्टी निर्माण गर्ने उनको आशा थियो । त्यस्तै सभापति खड्काले आगामी मंसिर १४ गते हुने प्रदेशसभाको निर्वाचनमा काँग्रेसको जीत सुनिश्चित भएको दाबी गरे । तर त्यसका लागि गुट, उपगुटभन्दा पार्टी हितको पक्षमा लाग्न जरुरी रहेको सभापति खड्काले बताए ।

त्यस्तै उनले वीपीका अनुयायी हौँ भन्नेहरुले आचरण र व्यवहार पनि त्यो देखाउन जरुरी रहेको बताए । राजनीति देश र जनताको लागि गर्नुपर्ने भन्दै धन संग्रह गर्नका लागि नभएको उनले बताए ।

निर्वाचन क्षेत्र नं. ३ (क)का सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको जागरण अभियानलाई महासमिति सदस्य जोगेन्द्र विश्वकर्मा, नेताहरु शारदा सुनार, विष्णु मल्ल, सावित्रा काफ्ले, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक, नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरे, जिल्ला सदस्य घनश्याम भण्डारीलगायतले राय सुझाव राखेका थिए ।

उनीहरुले काँग्रेसका विभिन्न संगठनहरु क्रियाशील बनाउन आग्रह गर्दै आगामी निर्वाचनमा मेरोभन्दा पनि राम्रो उम्मेदवारलाई टिकट दिनुपर्ने आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *