दाङ, फागुन ५ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको दर्शकको सहभागीता बढ्दै गएपछि रौनकता बढ्दै गएको हो ।
महोत्सवमा आज पाँचौँ दिन पनि दर्शकको अत्याधिक भिडभाड रहेको थियो । आज चर्चित लोकगायक प्रकाश दुतराजको धमाकेदार प्रस्तुतीले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ ।
सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू झुमेका थिए । कार्यक्रमको दौरानमा उनले लोकप्रिय गीतहरू गाएपछि दर्शकहरू उत्साहपूर्वक नाच्न थालेका थिए । उनको प्रस्तुतीले युवादेखि वृद्धसम्म सबैलाई मोहित बनाएको थियो ।
कार्यक्रममा उपस्थित रेशम परियारले प्रकाश दुतराजका गीतहरूमा विशेष आत्मीयता हुने र जसले हरेक दर्शकलाई जोड्ने बताए ।
कार्यक्रममा लोकगायक चन्द्र शर्मा र चर्चित डान्सर निशा गिरीले पनि थप मनोरन्जन दिएका थिए । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा संचालन भइरहेको महोत्सवमा दैनिक रूपमा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन् ।
साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार भोलि चर्चित गायिक एलिना चौहान, गायक रमेश शर्मा, शिव संगित लगायतका कलाकारको प्रस्तुति रहनेछ ।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनीमा राखिएको बताए । महोत्सव १६ गतेसम्म संचालन हुने छ ।