
तुलसीपुर, कार्तिक ४ ।नायक आकाश श्रेष्ठले कोरोना भाइरसको महामारीले थिलोथिलो हुन पुगेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्रकर्मीसंगै राज्यपनि गम्भिर बन्नुपर्ने बताएका छन ।
चलचित्र पत्रकार सघं दाङले बिहीवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा नायक श्रेष्ठले विगत २ वर्षदेखि बन्द उद्योग सञ्चालन गर्न सबै लाग्न जरुरी रहेको बताएका हुन ।
‘निदाएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विषेशगरी फिल्म निर्माता,प्रदर्शक र वितरक मिलेर जानुको विकल्प छैन,’ उनले भने–‘अब यो विषयमा चलचित्रकर्मीसँगै राज्य पनि गम्भीर बन्न जरुरी छ ।’

पछिल्लो समय सिनेमा हल सञ्चालकहरु सचेत बन्दै गएको भन्दै उनले अब बन्द रहेका सिनेमा हलहरुलाई सञ्चालन गर्न र दर्शकलाई हलसम्म आउने वातावरण बनाउन नेपाल चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन सम्बन्धि आकर्षक राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा फिल्म निर्माता, निर्देशक ऋषिराज आचार्यले आगामी पुस ९ गतेलाई चलचित्र ‘चुरिफुरी’ सार्वजनिक गर्ने घोषणा गरे ।
चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा गायीका बिन्दु परियार,नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी लगाएतले चलचित्र क्षेत्र धरासायी बन्दै गएको भन्दै यसलाई चलायमान बनाउन जिम्मेवार सबै पक्ष लाग्नु पर्ने सुझाएका थिए ।
सघंका पूर्व अध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सघंका उपाध्यक्ष सन्तोष केसीले गरेका हुन ।