२०८१ भाद्र २८ गते शुक्रवार

सागर ‘सीतको पानी’ बनेर तप्किए


दाङ, पुस १० । नेपाली कला क्षेत्रका ‘उम्दा’ कलाकार सागर भण्डारी रंगमञ्चमा फेरि उदाएका छन् । कलाकारीताको औपचारिकताबाट केही समयको ‘गुमनाम’ । गायकीबाट कलाकारीता सुरु गरेका दाङका उनी यो अवधिमा टिकटक ‘ब्वाए’ बन्ने लयमा ब्यस्त बने ।

मुलतः फिल्मी संबादमा दुरुस्तै अभिनयसहित टिकटकमा छाएका सागरले यो सामाजिक सञ्जाललाई लाई ‘अभिनय स्कुल’ का रुपमा उपयोग गरे । उनी भन्छन् ‘टिकटक मेरा लागि अभिनय सिक्ने पाठशाला बन्यो।’ तर,बिस्तारै उनी यो अभिनयशालाबाट बाहिरिए । कारण उनी फेरि रंगमञ्चमा रंगिन पुगे ।

सागर शुक्रवारदेखि ‘सीतको पानी’ बनेर दर्शक स्रोता सामु ‘तप्किन’ आइपुगेका छन् । चर्चित लोकगायिका देबी घर्ती र राजु ढकालको आवाजमा रहेको ‘सीतको पानी’ बोलको गीतमा सागरले मुख्य अभिनय निर्वाह गरेका छन् ।

मुलतः जीवन भोगाईको यथार्थपरक शब्द बुनिएको यो गीतमा सागरले आँफूलाई अब्बल कलाकर्मीको रुपमा प्रस्तुत गरेका छन् । शारिरीक रुपमा अशक्तको भूमिकामा देखिएका उनी पूजासामाग्री ब्यापारी बनेका छन् ।

‘म यसरी गीतमा अभिनय गरेको पहिलो पटक हो । मलाई यो सीप टिकटकले नै दियो,’ उनले भने ‘मेरो गीति अभिनयलाई रेष्पोन्स राम्रै आइरहेको छ ।’ सागरलाई यो गीतमा नायिका छुल्ठिम डोल्माले साथ दिएकी छन् । देवेन्द्र बब्लुको निर्देशन रहेको गीतमा रमेश बिजीका शब्द रहेका छन् भने चेतन गोतामेको संगीत रहेको छ ।

दाङ घोराहीका सागर राजनीतिक दलका नेताहरुको आवाज दुरुस्तै नक्कल गर्न सक्ने माहिर कलाकार हुन् । अभिनयसंगै उनले आँफूलाई गायकको रुपमा समेत कलाकारीता क्षेत्रमा उभ्याएका छन् । उसोत, उनको यो क्षेत्रमा प्रवेश गायकीबाटै भएको थियो । उनले सुरुमा ‘राप्ती झैँ बग्यो मायाँ’ बोलको गीतबाट गायन आरम्भ गरेका थिए । त्यसपछि उनले ‘मोज गरौँ जवानीमा’ बोलको अर्को गीतमा आवाज दिए ।

‘गीतबाट साथीभाइहरुको राम्रै प्रतिकृया पाएँ, अनि यो क्षेत्र झनै प्रिय लाग्दै जान थाल्यो,’ उनले भने । झण्डै आधा दर्जन गीत गाएपछि उनी कलाकारीता क्षेत्रमै अर्को पहिचान बनाउने योजनामा लागे । फलतः उनले ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । त्यसयता लामो समय पछि सीतको पानी बोलको गीत मार्फत आँफूलाई यो क्षेत्रमा सार्वजनिक गरेका छन् ।

यो गीत पछि लगत्तै अर्को हप्ता सम्म उनकै अभिनयमा रहेको ‘मलाई मायाँ गरन’बोलको अर्को गीतपनि सार्वजनिक हुने तयारीमा रहेको उनले बताए । यो गीतमा पपस्टार कमल खत्री र मेलिना राईले आवाज दिएका छन् ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *