तुलसीपुर, बैशाख २६ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नीता गौतम दिक्षितले मानव अधिकार र सामाजिक न्यायको प्रस्थान विन्दु कानून भएको बताएकी छिन् । उनले कानूनको दृष्टिले सबै समान हुने बताउँदै कानूनको पालना सबैले अनिवार्य गर्नुपर्ने कुरामा जोड दिइन् ।
कसैले मलाई कानूनको ज्ञान छैन भन्दैमा उसको अपराधलाई क्षमा दिने काम नहुने उनले स्पष्ट पारिन । कानूनका दृष्टिले हरेक नागरिक समान हुने पनि उनको भनाई थियो ।
तुलसीपुर मेट्रो कलेज बिएएलएलबीमा अध्ययनरत विद्यार्थीले कानून दिवसको अवसर पारेर आयोजना गरेको कानून दिवसको सार्थकता विषयक अन्तक्र्रिया कार्यक्रममा दिक्षितले संविधानको सर्वोच्चतामा कानून भन्दा अगाडि केही पनि हुन नसक्ने बताइन । उच्च अदालत तुलसीपुरले नेपालमै सबैभन्दा छिटो मुद्दाको छिनोफानो गरेको पनि उनको दाबी थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमै कानूनको अध्यापन सहजताका लाागि आफुले कलेज सञ्चालनको पहल गरेको बताए । कानून सर्वव्यापी विषय भएको हुँदा सबै कुरामा यसको महत्व भएको उनले बताए ।
कार्यक्रममा उच्च अदालत तुलसीपुर बार एसोसियसनका अध्यक्ष पुष्कर भण्डारीले अदालतमा पनि विभिन्न कमजोरी हुने गरेको भन्दै बारले त्यसलाई सुधार्दै लगेको बताए । कानून दिवसको सार्थकता कानूनको परिपालनाबाट मात्रै सम्भव हुने उनको भनाई थियो ।
बरिष्ठ अधिवक्ता वामदेव शर्माले समाजको सुरुवातसँगै कानूनको सुरुवात भएको भन्दै समाजले नै कानून निर्माण गरेको बताए। लिखित कानून नहुँदा र्धम, संस्कृति र परम्पराका आधारमा न्याय सम्पादन हुने गरेको पनि उनले बताए। अर्का वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालोकोटमा कुनै पनि कलंक लगाउन नहुने कुरामा जोड दिए ।
जनतालाई न्यायालयप्रति पूर्ण विश्वस्त बनाउनुपर्नेमा उनको जोड थियो । कानून विषयप्रति विद्यार्थीको आकर्षण बढ्नु सुखद कुरा भएको पनि उनको भनाई थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रदीप धितालले विधिको शासन सबैलाई आवश्यक पर्ने बताए ।
विद्यार्थी निराजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, विद्यार्थी तिर्सना रोकाया र सुमिक्षा आचार्यले कानूनको महत्वका बारेमा बताएका थिए भने कार्यक्रमको सहजिकरण विद्यार्थी प्रकाश वलीले गरेका थिए ।