
तुलसीपुर, कात्तिक १० । नेकपा एमालेको पालिकास्तरिय अधिबेशन अन्तगर मंगलबार तुलसीपुर उपमहानगरपालिकाको अधिबेशन दोघरेस्थित तुलसीपुर उद्योग बाणिज्य संघको भवनमा भयो । त्यहाँ सुन्दर र आकर्षक सयपत्री फूलका मालाहरुले अतिथिहरुलाई स्वागत गरियो ।
नगर कमिटी पदाधिकारीको टुँगो लागेपछि मध्यरातमै भएपनि उनीहरुको घाँटीमा नेता कार्यकर्ताले खुसी हुँदै सयपत्रीकै माला लगाइदिए । निधारमा अभिर टीका । त्यो माला दुधेनाकै उत्पादन थियो । पाँच युवा मिलेर जग्गा भाडामा लिएर गरेको सयपत्रीको ब्यबसायिक फूल खेतीको उत्पादन थियो ।
तुलसीपुर ८ दुधेनामा करिब ७ कठ्ठा क्षेत्रफलमा तिहारलाई लक्षित गरि गरिएको फूलखेति यतिखेर मनै लोभ्याउने गरि पँहेलपुर फूलेको छ ।
ब्यबसायिक पुष्प खेती गरेका मध्य एक युवा झग्गु भण्डारीका अनुसार उनीहरु माला आँफैले तयार पारेर बिक्रि गर्दै आएका छन् ।
‘हामीलाई मंगलबार एमालेको तुलसीपुर अधिबेशनका लागि झन्डै ६ हजार जतिको माला अडर आएको थियो,’ भण्डारीले भने ‘हामीले नै उत्पादन गरि बेचेको माला नेता र नयाँ पदाधिकारीले लगाएको देख्दा निकै खुसी लाग्दो रहेछ ।’
बुधबार तुलसीपुरकै एक ब्यक्तिले थप आठ वटा माला अडर गरेको हुँदा तयार पारेर बेचेको भण्डारीले फरककोणलाई बताए । तुलसीपुर क्षेत्रमै सयपत्री फूलको ब्यबसायिक खेती हुनु र एउटा मालाले बजारमा दुई सय रुपैंया मुल्य पाउनुले भविस्यमा पुष्प खेतीको ब्यबसायिक संभावना उजागर हुनु हो ।

घर आँगन र कौसीहरुमा शौख तथा सजावतका लागि फूलहरु लगाउने गरिन्थ्यो । तर, पछिल्लो समय दाङमा पनि ब्यबसायिक पुष्प खेतीहरु हुन थालेको छ । पुष्प खेतीपनि एउटा राम्रो आयआर्जनको स्रोत हो भन्ने मान्नेता स्थापित हुँदै जान थालेको छ ।
मिलेर संगै पुष्प खेती गरेका अर्का युवा अर्जुन भट्टराईले आफुहरुलाई तिहारका लागि झन्डै ८० – ९० हजार जतिको मालाहरुको अग्रिम अडर आइ सकेको बताए । ‘घोराहीबाट यही १३ गतेका लागि मालाहरुको अडर आएको छ,’ भट्टराईले भने ‘त्यसपछि क्रमिक रुपमा एक दर्जन वा त्यसबढी मालाहरुको अग्रिम अडर आएको छ ।’
तुलसीपुर बजार बाट तिहारका लागि भनेर थुप्रै ब्यक्तिले मालाको अग्रिम बुकिङ गरि सकेको भट्टराईले फरककोणलाई जानकारी दिए ।उनले फरककोणलाई माला अडर गर्नेहरुको लामो लिष्ट देखाएका थिए ।
‘ हाम्रो उत्पादनले दिदी भाइका बीचमा खुसी र आत्मियता बाढ्न सफल होस,’ भट्टराईले भने ‘ आफ्नो ब्यापारका साथै अरुको खुसीका लागि बिषेश दिनमा आवश्यक पनि चिज उत्पादन गर्न पाउँदा हामी निकै खसी छौं।’
थोरै क्षेत्रफलमा आफुहरु पाँच जना युवाहरु मिलेर परीक्षणका लागि गरेको पुष्प खेतीको बिक्रिले आफुहरु उत्साहित बनेको भट्टराईले बताए ।
