काठमाडौं,भदौ ४ । सेयर कारोबारको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ।
आज बिहीबार ०।५७ प्रतिशतले घटेर नेप्से ३ हजार १८०.७८ मा पुगेको छ। बुधबारको तुलनामा थोरै संख्याले नेप्से घटेको हो। ३८.२८ विन्दुले बढेर बुधबार ३ हजार १९८.६० मा पुगेको थियो।
यस्तै आज ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ १.३९ प्रतिशतले घटेर ५९०.१५ मा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।
बिहीबार २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिदबिक्री भएको छ।
बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ कम्पनीको कारोबार घटेको छ। सबैभन्दा बढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले लगानी गुमाएका छन्।
हाइड्रो कम्पनीको सेयर १२३.३१ विन्दुले घटेको छ। अन्य बैंकिङ,होटल एन्ड टुरिजम,डेभलपमेन्ट बैंक,हाइड्रो पावर,फाइनान्सलगायत कारोबार गुमाउने कम्पनीमा परेका छन्।
यस्तै ट्रेडिङ,निर्जीव विमा, अन्य, वित्तीय र जीवन विमाका लगानीकर्ताले सेयर लगानीबाट लाभ उठाएका छन्। ट्रेडिङको १८.७१, निर्जीव विमाको ४५७.४७, अन्यको ३४.२२, वित्तीय संस्थाको ५०.६३ र जीवन विमाको ४६८.५७ प्रतिशतले सेयर बढेको छ।
बिहीबार जीवन विकास वित्तीय संस्थाको सेयरमा मात्रै सर्किट लागेको छ।