देउखुरी, पुस २८ । राप्ती गाउँपालिका क्षेत्रमा क्रियासिल चारवटा सहकारीका बीचमा एकीकरण भएको छ ।हरियाली, महाप्रभु, विहानी र जनजिविका बचत तथा ऋण सहकारी संस्थाका बीचमा एकीकरण भएको एकीकृत सहकारीका अध्यक्ष शिवध्वज मल्ले जानकारी दिए । एकता पछि नाम भने देउखुरी बचत तथा ऋण सहकारी राखिएको छ । सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियामा रहने भएको छ ।
राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकीकृत गर्दै एक व्यवसायिक, नीति गत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्ने उदेश्य राखिएको मल्लले बताए । लगानी विस्तार गर्दै बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गरिएको एकिकृत सहकारी देउखुरी बचत तथा ऋण सहकारीका कोषाध्यक्ष हरिप्रसाद भुसालले बताए । एकता पछिको सहकारी १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने व्यवस्था गरिएको छ ।
लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवालीलाई चयन गरिएको छ । चार सहकारीको आर्थिक वर्षको असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ पुगेको छ ।जसको जम्मा पूँजी ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैंया पुगेको साविक विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले बताए ।
एकीकरण पछि जनजिबीका सेवाकेन्द्र भालुबाङ, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पथ्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुरबाट सेवा सुरु भएको संस्थाका प्रमुख ब्यवस्थापक उमेश कुमार चौधरीले बताए ।
भुमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयको निर्णय अनुसार सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ बमोजिम देउखुरी बचत तथा ऋण सहकारीको विधिवत रुपमा दर्ता गरिएकोे मन्त्रालयका प्रतिनिधि श्रीधर ज्ञवालीले जानकारी दिए ।