२०८१ चैत्र ३ गते आइतवार

लघुवित्तद्धारा ४८ उद्यमीलाई अनुदान


तुलसीपुर,असोज १८ ।महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दाङले आफ्ना सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका लागि अनुदान वितरण गरेको छ । आइतवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि बिजौरी शाखा अन्तर्गतका सदस्यहरुलाई व्यवसायका लागि आवश्यक सामाग्री र नगद अनुदान वितरण गरेको हो ।कार्यक्रममा संस्थामा आवद्ध ४८ जना सदस्यहरुलाई सामुहिक रुपमा तथा व्यक्तिगत रुपमा व्यवसाय प्रर्वद्धनका लागि अनुदान रकम प्रदान गरिएको हो ।

कृषि एवं पशुपालन, साना उद्यमीलाई आवश्यक सामाग्रीहरु र नगद गरि ८ लाख ७३ हजार बराबरको अनुदान रकम वितरण गरिएको संस्थाका जिल्ला संयोजक अनिल अधिकारीले जानकारी दिए । उनका अनुसार २ वटा हाते ट्याक्टर,दाना पिसाउने मेसिन १ वटा, मकै फोक्ने मेसिन ४वटा,स्प्रे ट्याङकी ११ वटा, टनेल ३ वटा,सिलाई मेसिन र आइरन २÷२ वटा,इलेक्ट्रीक मेसिन १ वटा,मोटर २ वटा,ठेला २ वटा र १ हजार लिटरको हिल ट्याङ्की र एउटा पाइप प्रदान गरिएको छ ।

कार्यक्रममा सदस्यहरुको आवश्यकता अनुसार नगद समेत अनुदानमा प्रदान गरिएको छ । उद्यम विकास कार्यक्रमद्धरा प्रर्वद्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्धारा व्यवसाय गर्न अनुदान वितरण गरिएको संयोजक अधिकारीले बताए । संस्थाले हालसम्म शान्तिनगर, श्रीगाँउ, हापुरे, लमही,गढवा, भालुवाङ, राजपुरमा सदस्यहरुलाई २० लाख अनुदान रकम वितरण गरि सकेको जानकारी दिइएको छ ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दाङका सञ्चालक कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुख मार्या शर्माले महिलालाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाको प्रसंसा गरिन । महिलाहरु चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरु उद्यमी बन्ने क्रम बढ्दो रहेको उनले बताइन ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दाङका संस्थापक कोषाध्यक्ष सारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहजीकरण संस्थाका प्रर्वधक यमला गौतमले गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *