
दाङ, असार १७ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले मूल्य घटाएको हो ।
यो घटाएको मूल्य संगै अब दोस्रो वर्गअन्तर्गतका दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ र डिजेलको मूल्य १९४ हुने छ ।
यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१६ र डिजेल प्रतिलिटर २२४ रहेको थियो ।
नयाँ मूल्य अनुसार अब पहिलो वर्गअन्तर्गतका नेपालगन्ज, धनगढी, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैंयाँ ५० पैंशा र डिजेल प्रतिलिटर १९२ रुपैंयाँ ५० पैंशा पर्ने छ ।
त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ पर्ने छ ।
त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले मूल्य घटाइएको छ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ हुने छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ८५ प्रतिकिलोलिटर कायम गरिएको छ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रूपैयाँ घटाइएको छ । अब उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) लाई २ हजार ६० मा तिर्नुपर्ने छ । यसअघि २ हजार १ सय ६० तिर्नु पथ्र्यौ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गरावट आएसंगै नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।