२०८३ असार ११ गते बिहिवार

टरिगाउँ एयरपोर्टलाई २५ करोड बजेट बिनियोजन


तुलसीपुर, असार ११ ।

तुलसीपुर उपमहानगरपालिका – १२ स्थित टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तारका लागि सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा टरिगाउँ एयरपोर्टका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ ।
आगामी आर्थिक बर्ष २०८३ / ०८४ मा एयरपोर्टको धावन मार्ग बिस्तार गर्ने उदेश्यले २५ करोड बजेट छुट्याइएको दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुबेदीले बताए ।
उनका अनुसार छुट्याइएको रकम बाट धावन मार्ग विस्तार गरिने छ । बिमानस्थलको डिटेल सर्भे गरि ७२ सिटे (एटीआर) जहाज अवतरण गर्न सक्ने बनाइने सुबेदीले बताए ।
छुट्याइएको रकमले बिमानस्थलको धावन मार्ग कम्तिमा पनि १५०० मिटरमा बिस्तार गरिने लक्ष्य राखिएको छ ।
उनका अनुसार एयरपोर्ट स्तरबृछिको काम बहुवर्षीय योजना बनाएर गरिने भएको छ । हाल विमानस्थलको कालोपत्रे धावन मार्ग ३० मिटर चौडाइ र लम्बाई जम्मा ७५० मिटर मात्रै छ । छोटो धावन मार्गका कारण टरिगाउँ एयरपोर्टमा ठूला जहाज अवतरण गर्न सक्दैनन् । साना १९ सिटे ट्विनअटर जहाजले मात्रै यहाँ अवतरण गर्न सक्छन् । साना जहाजले अहिले पनि उडान गर्दै आएका छन् । तर, साना जहाजमा यात्रा गर्दा यात्रुलाई भाडा महंगो पर्न जान्छ । अर्कौ तर्फ यात्रापनि उति सहज मानिदैन ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले छुट्याएको बजेटले सबै भन्दा पहिले धावन मार्ग बिस्तार गर्ने काम गर्न सके र यहाँ ठूला जहाज अवतरण गर्ने वातावरण बने त्यसले तुलसीपुरका साथै जिल्लाको पर्यटन बिकासमा ठूलो फड्को मार्ने आशा ब्यक्त गरे ।
टरिगाउँमा नियमित सेवा नहुनु, ठूला जहाज अवतरण गर्न नसक्नु जस्ता कारणले दाङसहित छिमेकी जिल्लाहरु सल्यान, रोल्पा, प्यूठान लगातका स्थानीय जहाज चढ्न बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवा जान बाध्य छन् । एयरपोर्ट बिस्तार भए अब टरिगाउँमै ठूला बिमान अवतरण हुने र त्यसले जहाज चढ्न बाहिरी जिल्ला जानु पर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष केसीले बताए ।
टरिगाउँ एयरपोर्ट नेपालकै पुरानो मध्यएको विमानस्थल हो । जुन २०११ सालमा स्थापना भएको हो । यो एयरपोर्टमा तत्कालिन नेकपा (माओबादी) का नेता लोकेन्द्र बिष्ट मगर २०६८ भदौमा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । उनी पर्यटन मन्त्री हुँदा धावन मार्ग कालोपत्रे गर्नका लागि ८ करोड बजेट बिनियोजन भएको थियो । धावन मार्गका लागि टेन्डर आह्वान भइ झन्डै ७ करोडमा धावन मार्ग कालोपत्रे गर्ने कार्य भएको थियो ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *