
कतिपयले निर्मित घर आँफै भत्काउँदै

तुलसीपुर , असार ४ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा रहेको जग्गा अतिक्रमन गरि निर्मित घर टहरा स्थानीयले आँफै भत्काउन सुरु गरेका छन् ।
प्रहरीको जग्गामा बिभिन्न ब्यक्तिहरुले अनाधिकृत रुपमा १० वटा घर टहरा निर्माण गरि बस्दै आएका थिए । प्रहरीले आफ्नो जग्गामा निर्मित घर टहरा खाली गर्न ताकेता गरेपछि उनीहरुले आँफै आफ्ना संरचना भत्काएर आवश्यक सामाग्री लैजान थालेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले आँफुहरुको आग्रहलाई आत्मसाथ गर्दै स्थानीयले आफ्ना निर्मित संरचना भत्काउँदे गएको बताए । पराजुलीका अनुसार ठाउँ खाली गरेर जाने स्थानीयका सामान ओसार पसारमा सहयोग गर्दै आएको छ । ‘ निकै सौहार्द पूर्ण वातावरणमा सहयोग माग्नेलाई प्रहरीले आँफै सरसामान ओसार्न सहयोग गर्दै आएको छ,’ डिएसपी पराजुलीले भने ‘ हाम्रा सामान ओसार्न सहयोग गरिदिनु पर्यो भनेर आउनेको हाम्रै गाडीले समान उनीहरुले भनेको ठाउँमा पुर्याइदिने गर्छ ।’ इप्रकाको नामको अतिक्रमित जग्गा २ कठ्ठा १० धुर हो । सोही जग्गामा निर्मित घर तथा संरचना स्थानीयले आँफै धमाधम भत्काएर स्थानीयले खाली गर्न थालेका हुन ।
इप्रकाको कुल जग्गा पाँच कठ्ठा १० धुर जति छ । करिब ४० जना हाराहारीमा मानिसहरु बस्दै आएका थिए । असार ४ गते सम्म केही परिवार यो ठाउँ छाडेर गइ सकेका छन् । अन्य केहीले आँफैले घर टहरा भत्काइ रहेका छन् ।
अतिक्रमति क्षेत्र बाहेकमा इप्रकाको कार्यालय लगाएत अन्य भवनहरु छन् ।
यसअघि इप्रकाले जेठ १२ गते १५ दिने सार्वजनिक सूचना जारी गरि आफ्नो जग्गा खाली गर्न आग्रह गरेको थियो ।
प्रहरीले जग्गा खाली गर्न बारे सार्वजनिक गरेको १५ दिन सूचनाको अवधि २८ गते सकिएको थियो । २७ र २८ गते दुई दिन माइकिङ गरि जग्गा खाली गर्न भनिएको थियो ।
तर,पनि प्रहरीले बल प्रयोग नगरी स्थानीयको भावना अनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र राजनीतिक दलका प्रतिनिधि लगाएत संग त्यसबारे छलफल गरेको थियो । त्यो छलफल बाट दुई परिवारको अवस्था निकै नाजुक देखिएपछि उनीहरुको ब्यबस्थापन गर्ने जिम्मा मेयर टीकारामले लिएका थिए ।
अशक्त र महिला मात्रै रहेका तथा घरमा कमाउने ब्यक्ति नभएका दुई परिवारको ब्यबस्थापनको जिम्मा मेयर खड्काले लिएको हुँदा थप केही सहज डिएसपी पराजुलीले बताए ।
आफ्नो अतिक्रमित जग्गा खाली भएपछि त्यहाँ निर्मित घर संरचना किलियर गरि तारबार गरि राख्ने प्रहरीको योजना छ । इप्रका तुलसीपुरका लागि महिला तथा बालबालिका भवन आवश्यक रहेको हुँदा भविश्यमा त्यस अनुरुप संरचना निर्माणका लागि पहल हुन सक्ने डिएसपी पराजुलीले बताए ।
त्यस्तै नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जग्गा अतिक्रमित छ । पछिल्लो नाप जाँच बाट यो तथ्य फेला परेको हो । अस्पताल बिकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार मालपोत र नापी कार्यालयबाट जग्गाको बिवरणहरुको प्रतिक्षा भइ रहेको बताए । अस्पतालले पनि यसअघि नै आफ्नो जग्गामा निर्मित घर तथा संरचना खाली गर्न भन्दै यसअघि नै सूचना जारी गरि सेकेको छ ।

त्यस्तै नेपाल प्रहरीको घोराहीस्थित क्षेत्रीय प्रहरी आवासीय विद्यालयको साढे २१ बिगाहा जति क्षेत्रफलको जग्गामा अतिक्रमण गरी निर्मित घर खाली गर्नका लागि उस्ले पनि सार्वजनिक सूचना जारी गरि सकेको छ ।
उस्को नाममा रहेको जिल्लाको साविक सोनपुर गाविस वडा नं. – ५ (ख) र हाल लमही नगरपालिका –३ सोनपुरको कित्ता नम्बर ४१४ को २१ बिगाहा ९ कठ्ठा ७ धुर ९ वर्गमिटरमा १४५३९१।४१० जग्गा अतिक्रमणमा परेको हुँदा त्यहाँ निर्मित संरचनाहरु तत्काल खाली गर्न भन्दै जारी भएको सूचनाको अल्टिमेटम पुरा भइ सकेको छ । विद्यालयको जग्गामा बस्दै आएका स्थानीय केही ब्यक्तिले उच्च अदालत तुलसीपुरमा दायर गरेको रिटमा सुनवाई गर्दै तत्कालका लागि असार १० गतेसम्म कुनै कदम नचाल्ने भनेको हुँदा केही समस्या भएको जिल्लाका प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले बताए ।
असार १० गते पछिको अदालतको आदेश अनुसार अघि बढ्ने मनस्थितिमा प्रहरी छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय घोराही दाङका झन्डै १४ बिगाहा जग्गा अतिक्रमणमा परेको छ ।
घोराही उपमहानगरपालिका– १४ र १६ मा रहेको घोराही ७ ख कित्ता नं. ६५१ को १३ बिगाहा १४ कठ्ठा ३ धुर क्षेत्रफलको अतिक्रमित जग्गा खाली गर्न प्रशासनले पनि सार्वजनिक सूचना जारी गरेको अवधि गुज्री सकेको छ ।

