तुलसीपुर, जेठ २५ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट समूह, ११औं तहका डा. सुवाश पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयबाट पेश भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नव नियुक्त स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ ।
बैठकमा मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन नब नियुक्त मन्त्रीलाई आग्रह गरेका थिए ।
नेकपा (एमाले)ले आफ्नो पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएर जसपाका एक जनासहित पाँच जना नयाँ मन्त्री नियुक्त गरेको थियो । उनीहरुले मन्त्रीले सोमबार मात्रै पद तथा गोपनियताको शपथ लिएका थिए ।
