
दाङ,साउन ९ । तुलसीपुरमा विपदको व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीका वारेमा सरोकारवालासँग छलफल भएको छ । विपदको जोखिममा रहेकाहरुलाई जोखिमका वारेमा पूर्व सूचना कसरी सम्प्रेषण गर्ने भन्ने वारेमा छलफल गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले विपद पश्चात पिडितहरुलाई राहत वितरणका लागि एकद्धार प्रणालीका लागि मेयर विपद् व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए । पिडितहरुलाई तत्काल राहत प्रदान गर्न कोषको व्यवस्था गरेको उनले बताए ।विपद व्यवस्थापन ऐन समेत वनाएर काम अगाडि वढाएको उनले बताए । खोला किनारमा रहेको वस्तिहरुलाई आवश्यकता अनुसार स्थानान्तरण गर्ने योजनामा रहेको जानकारी दिए ।
कार्यक्रममा विपदका वारेमा काम गर्दै आएको एक्सन प्लानकी लक्ष्मी अवस्थीले उपमहानगरपालिकाभित्र वाढीको जोखिममा ११ नम्वर वडाको सुकौरा,१२ को कचिला, १३ को वखरिया र १४ को मोतिपुर लगायतका क्षेत्र बढी संवेदनसिल रहेको बताइन । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सबैखाले विपदका लागि उपमहानगरपालिकाले काम गरिरहेको वताए ।
वडा नम्वर ११ का अध्यक्ष चित्रवहादुर वलीले मोतिपुर वासीहरु वाढीको समयमा त्रासमा वाँच्न वाध्य भएको भन्दै दीर्घकालिन रुपमा समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । वडा नम्वर १२ की सदस्य शान्ता पुनले खोलाको कटान नियन्त्रणको लागि तटवन्ध गर्न आवश्यक रहेको जोड दिइन ।
यसैविच पूर्व सूचना प्रणाली व्यवस्थापनका लागि नवराज लामिछानेको संयोजकत्वमा समिति बनाइएको छ । समितिका सदस्यहरुमा वडा नम्वर ११ का अध्यक्ष चित्रवहादुर वली, १२ का वडा सदस्य शान्ता पुन,१३ का वडाध्यक्ष डम्वरवहादुर न्यौपाने,१४ का अध्यक्ष पर्शुनारायण चौधरी, १ का अध्यक्ष लक्ष्मण भण्डारी, सामाजिक समिति संयोजक कुमार लामिछाने, रेडक्रसका सन्तोष ढकाल, लक्ष्मी अवस्थी र सदस्य सचिवमा उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण शाखा प्रमुख भिमप्रकाश खत्री रहेका छन् ।
छलफलका क्रममा सहभागीहरुले जोखिमको पूर्व सूचना नहुँदा साना साना जोखिममा पनि धेरै क्षति हुने गरेको गुनासो गरेका थिए ।
