२०८२ चैत्र २६ गते बिहिवार

टी-२० विश्वकप : आयरल्यान्डको फराकिलो जित


मुम्बई ,फागुन २ । आयरल्यान्डले आईसीसी टी-२० विश्वकप २०२६ मा ओमानविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलोम्बोमा भएको खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको हो ।

२३६ रनको विशाल लक्ष्य पछ्याएको ओमान १८ ओभरमा १३९ रनमा अलआउट भयो ।

ओमानका लागि आमिर कलीमले ५० तथा हम्माद मिर्जाले ४६ रन बनाए । यी दुईबाहेक अन्यको प्रदर्शन बिर्सनालायक रह‍्यो ।

आयरल्यान्डका लागि जोसुआ लिटिलले ३ विकेट लिए । म्याथ्यु हमफ्रिज र बेरी मेकार्थीले २-२ विकेट लिए भने जर्ज डकरेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

प्रतियोगिताकै उच्च योगफल बनाउने क्रममा आयरल्यान्डका लागि लोरकान टकर ५१ बलमा ९४ रनमा अविजित रहे भने गारेथ डेलानीले ५६ रन बनाउँदा जर्ज डकरेलले ९ बलमा ३५ रनको आक्रामक इनिङ खेले ।

टी-२० विश्वकपकै पहिलो शतक बनाउने संघारमा रहेका टकरले शतक भने पूरा गर्न पाएनन् । अन्तिम ओभरमा स्ट्राइकमा रहेका उनले पहिलो बलमा २ रन लिएपछि दोस्रो बलमा १ रन मात्र जोड्न सके।

त्यसपछि डकरेलले एक डट खेलेर बाँकी ३ बलमै छक्का प्रहार गर्दै इनिङ सकाए ।

ओमानका लागि शकील अहमदले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । शाह फेसल र आमिर कलीमले १-१ विकेट लिए ।

आयरल्यान्डले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । ओमान भने यस हारसँगै एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

ओमान यसअघि आयरल्यान्ड र श्रीलंकासँग पराजित भएको थियो । ओमानले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ ।

यसअघि श्रीलंकाले ओमानविरुद्ध नै २२५ रनको योगफल बनाएको थियो जुन् सबैभन्दा उच्च थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *