दाङ, पुस , १३ ।काठमाडौं महानगरपालिका मेयर बालेन शाहपनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् ।
आइतबार बिहान ४ बजेतिर भएको सहमति पत्रको बुँदा नम्बर ४ मा आगामी निर्वाचन पछि बालेन प्रधानमन्त्री र अहिलेका पार्टी सभापति रबि लामिछाने पार्टी सभापति नै रहने उल्लेख छ ।
अब हुने प्रतिनिधि सभाको निर्वाचनपछि बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रबि र बालेका बीचमा सहमति भएको छ ।
निर्वाचनका क्रममा पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ।
रबि र बालेका बीचमा बालेनका तर्फबाट केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा अद्यावधिक गर्ने कुरापनि उल्लेख छ ।
यस्तो छ सात बुँदे सहमति पत्र
१– नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंइ घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने ।
२– समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्कौ दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।
३ – पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत एकता भए पश्चात स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने ।
४– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
५ – बृहत एकता पश्चात पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।
६– यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
७ – राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह (घण्टी) मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।
रबि र बालेका बीचमा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्ने कुरापनि उल्लेख छ ।