
ठानबहादुर कुँवर
तुलसीपुर, १३ असार ।
शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानीलगायतका विभिन्न सुख सुविधाका लागि अधिकांश मानिसहरु शहरमा झर्ने गर्छन् तर शहर पनि विभिन्न समस्याले जेलिएको छ । शहरमा पनि पानी पैँचो खानुपर्छ भन्ने कतिलाई अनौठो लाग्न सक्छ । हुन पनि हो पनि हो शहरमा त सुविधा धेरै प्रयोग गर्न पाइन्छन् तर तुलसीपुर शहरमा भने पानी पैँचो खानुपर्ने बाध्यता छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेका स्थानीयले पानी पैँचोमै दैनिकी चलाएका छन् । तुलसीपुर स्मार्ट सिटी बन्ने हल्ला चलिरहेको समयमा पानी पैँचो खानुपर्ने खबरले स्मार्ट सिटीलाई गिज्याएको छ । अमृतनगर खानेपानी तथा सरसफाई आयोजनामार्फत सञ्चालित खानेपानी आयोजनाको पानी वितरणमा समस्या देखिएपछि उपभोक्ताहरु पानी पैँचोमा दैनिकी चलाएका छन् ।
‘पानीको हाहाकार भएपछि अहिले पैँचोमा दैनिकी चलाएका छौँ, पैँचोमा पनि घण्टौ लाईन लागेर पानी भर्नुपर्ने बाध्यता छ’ स्थानीय जुनतारा पुनले भनिन् । जुनतार जस्तै अहिले धेरैजनाले पानी पैँचोमा काम चलाउन बाध्य छन् ।
उपभोक्ता समितिले घर–घरमा धारा वितरण गर्ने आश्वासनमा प्रति धारा २० हजारका दरले गत वर्ष चैतमा असुल गरेको तर एक वर्ष बितिसक्दा पनि धारा नदिदा मर्कामा परेको उपभोक्ता बताउँछन् । गत वर्ष दिईएको एउटै धारामा १४ घरधूरीले पानी भर्न लाईन बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
