
शान्तिनगर, असार १० ।
दाङको शान्तिनगर गाउँपालिकाले आगामी बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दे कृषिलाई प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष कमान सिहं डाँगीले आगामी आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेका हुन् । गाउँपालिकाले आगामी बर्षका लागि कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर नीति ल्याएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष डाँगीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पशुपालन विकासको लागि यस गाउँपालिकामा रहेका पशुपंक्षीको ओसारपसार हुने, रोग प्रकोपको सम्भावना भएका मुख्य सडक तथा आसपासका क्षेत्रमा निःशुल्क रुपमा पीपी आर, भ्यागुते, चरचरे, खोरेत स्वाइनफिवर खोपको व्यवस्था गर्ने नीति अघि सारेका बताए ।
शान्तिनगरले नीति तथा कार्यक्रमसँगै आगामी वर्षका बजेट समेत सार्वजनिक गरेको छ । शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाहले आगामी आर्थिक बर्ष ०७६÷७७ को बजेट प्रस्तुत गर्दै बजेटको दफाबार छलफल सुरु भएको बताइन् ।
