
देउखुरी, १४ जेठ ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङको आयोजनामा देउखुरीका सरोकारवालासँग नमुना सामुदायिक वनको अभ्यास तथा सिकाइ आदानप्रदान गोष्ठी मंगलबार देउखुरीको गढवामा सम्पन्न भएको छ । वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एवं गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यता र वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला महासंघका सचिव जानका केसीले हरियो वन कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला महासंघका प्रवक्ता हेमराज शर्माले हरियो वन कार्यक्रमअन्तर्गत नमुना सामुदायिक वनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका बोल्ने बक्ताहरुले पछिल्लो समय दाङमा बर्षेनी सिमेन्ट उद्योग खुल्दै जानु, वन क्षेत्रमा डढेलो लाग्नु, वन पैदावारको चोरी निकासी बढ्नु, वनको संरक्षण र सुशासनतर्फ धेरैले ध्यान नदिनुजस्ता समस्या बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
पछिल्लो समय सामुदायिक वनमाथि थुप्रै चुनौती देखिएको भन्दै सबैको साझा प्रयासबाट मात्रै ती चुनौतीलाई पार गर्न सकिने बताएका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वन समूहहरुले गाउँमा थुप्रै काम गरेको भन्दै अबका दिनमा यसलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सामुदायिक वनमा रहेको कच्चा पदार्थमा आधारित उद्यम चलाउनका आफूले योजना बनाइरहेको बताए । देउखुरीका सामुदायिक वनमा थुप्रै प्रकारका उद्योग चलाउन सकिने भन्दै त्यसको शुरुवात गढवा गाउँपालिकाले गरेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि उमाकान्त पन्तले वन क्षेत्रको संरक्षणबाट मात्रै राज्यले परिकल्पना गरेको बिकास गर्न सक्ने बताए । स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सवडिभिजन गढवाका प्रमुख शिवकुमार महतो, वन महासंघ राजपुरका अध्यक्ष रामवरण यादव जिल्ला महासंघ न्यायीक समिति सदस्य रामलक्ष्मण शाह, गढवाकी उपाध्यक्ष रुमा अर्याल, न्यायीक समिति संयोजक चित्र महतरा, समाजसेवी गुणनिधि शर्मा, सहजकर्ता डिल्ली डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला महासंघका सदस्य रोहवरबहादुर केसीले गरेका थिए ।
हरियो वन कार्यक्रमको सहयोगमा गढवा गाउँपालिका वडा नं. १ स्थित कुलपानी सामुदायिक वन समूहलाई नमुना सामुदायिक वनका रुपमा अघि बढाइ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।
