२०८३ असार ६ गते शनिवार

बालबिबाह रोक्न विद्यालयस्तरबाटै सचेतना आवश्यक


यमकला भुसाल
तुलसीपुर, १४ जेठ ।
बढ्दो बालविवाह रोक्न विद्यालयस्तरबाटै सचेतना जगाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ओरेक नेपालको आयोजनामा मंगलबार तुलसीपुरमा भएको विद्यालयमा हुने गरेको बालविवाहको कारण न्यूनीकरणमा जोखिम विषयक गोष्ठीका सहभागीहरुले त्यस्तो कुरामा जोड दिएका हुन् ।

ओरेक नेपालकी जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहागरपालिकाका शिक्षा शाखा संयोजक देवराज विश्वकर्माले किशोर किशोरीले यौन तथा प्रजनन् स्वास्थ्यका कुराहरु खुलेर बाहिर ल्याउन नसकेका कारण बालविवाह न्यूनीकरण हुन नसकेको बताए ।

उनले बालविवाह बढी मात्रामा हुने तर त्यो घटनालाई प्रहरीले उजुरी दर्ता गर्न नमान्ने गरेको गुनासो गरे । सामाजिक संस्कारले गर्दा राम्रो घरको परिवार आउँदा सानैमा विहे गरिदिने परम्परालाई तोड्नुपर्ने विकले बताए । कार्यक्रममा मावि कालाखोलाका प्रध्यानाध्यापक राजिव ओझा, अमर माविका प्रध्यानाध्यापक पदम न्यौपाने, अम्बेश्वरी माविका प्रधानाध्यापक नुमानन्द शर्मा लगायतले बालविवाह न्यूनीकरण गर्न सबै निकायले पहल कदमी चाल्नुपर्ने बताएका थिए ।

गोष्ठीमा दाङका विभिन्न विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष गरी २० जनाको सहभागिता थियो । कार्यक्रमको सहजीकरण ओरेककी कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *