तुलसीपुर , चैत १ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गठबन्धन दलहरुमा तीन नेताले १५÷ १५ महिना सरकारको नेतृत्व गर्ने बारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले तुलसीपुरस्थित पार्टी कार्यालयमा बिहीबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले पार्टीमा आधिकारिक रुपमा त्यस्तो कनै छलफल नभएको बताएका हुन ।
उनले भने ‘ यदी त्यो कुरा शिर्ष नेताका बीचमा मात्रै भएपनि पार्टी भित्र कुरा आउँथ्यो होला ।’ नयाँ गठबन्धन बने संगै सबै प्रदेशहरुमा सरकारको नेतृत्व परिवर्तन हुने पनि उनले बताए ।
सबै प्रदेशमा गठबन्धन बाहेकको नेतृत्व भए परिवर्तन गरि अगाडि बढ्ने निर्णय गठबन्धन दलहरुका बीचमा भएको उनले जानकारी दिए । लुम्बिनी प्रदेशमा अबको नेतृत्व एमाले वा माओबादी कस्ले नेतृत्व पाउँछ भन्ने कुरा टुँगो लाग्न बाँकी रहेको बताए ।
ज्ञवालीले नयाँ गठबन्धन आगामी निर्वाचन सम्म लैजानु पर्छ भन्ने पक्षमा वलकालत गर्न कार्यकर्तालाई आग्रह गरे । गठबन्धनका बिरुद्धमा गलत कुरा र प्रचार बाजी नगर्न उनले बताए । ‘वारम्बार सरकार परिवर्तन गरि रहने खेतीपाती गलत हुने छ,’ उनले भने ‘ त्यसो गरे अहिलेका सचेत जनताले पनि दलहरुलाई माफ गर्ने छैनन् ।’
‘अहिलेको गठबन्धन भत्काउन खोजे राजनीतिको एउटा ‘भद्दा मजाक’ मात्रै साबित हुने उनले उल्लेख गरे । गठबन्धनलाई चुनावसम्म कायम राख्न पर्ने उनको धारणा थियो ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम उपाध्यक्ष दिप्ती शिखा चौधरीको स्वागत मनतब्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण किरण गौतमले गरेका थिए ।
