२०८३ कार्तिक २५ गते मङ्गलवार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत


काठमाडौं ,पुस ४ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदाता नामावली स्वीकृत गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानूनी व्यवस्था छ । सोही व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर १ हजार ४९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

उनका अनुसार स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता १ हजार ५०६ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा परेका गाउँपालिका अध्यक्ष एक, नगरपालिकाका मेयर चार गरी आठ जनाको नाम हटाइ १ हजार ४९८ जनाको नामावली स्वीकृत भएको प्रवक्ता पौडेलले बताए ।

निर्वाचन कार्यक्रमबमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कसैको छुटेको भए नाम समावेश गर्न, समावेश भएका व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

जम्मा मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको मतभार १९ रहेकोले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *