
उरहरी,जेठ ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीले प्रत्येक गाँउ टोलमा पत्रकार उत्पादन गर्न जरुरी रहेको बताएका छन् । शुक्रवारदेखि वडा नं. ११ मा सुरु भएको एक हप्ते पत्रकारिता तालिमलाई सम्वोधन गर्दै वडा अध्यक्ष वलीले लोकतन्त्रको जग बलियो बनाउन र स्थानीय सरकारलाई सफल तुल्याउन हरेक टोलमा पत्रकार उत्पादन हुन जरुरी रहेको बताएका हुन । ‘हरेक गाउँ र वडामा खवरदारी आवश्यक छ,’ वडा अध्यक्ष वलीले भने ‘भ्रष्टचार, ढिला सुस्ती अन्त्य गर्दै सुशासन कायम गर्न गाँउ टोलमा पत्रकार पुग्नै पर्छ।’ त्यस्तै उनले बढ्दो बालविवाह न्यूनिकरणको लागि आमसंचार माध्यमले थप भूमिका खेल्नुपर्ने बताएका छन् ।
जहाँ मिडियाको उपस्थिति बलियो हुन्छ त्यहाँ मात्रै सहिरुपमा समावेशी र लोकतान्त्रिक चरित्र कायम हुने उनले विश्वास व्यक्त गरे । त्यस कार्यक्रमलाई सम्वोधन गर्दै वडा सदस्यहरु खिमा विक र निर्मा चौधरी, वडा सचिव भुवनेश्वर अधिकारी, साना किसान कृषि सहकारी संस्था उरहरीका अध्यक्ष लोकराज आचार्य, नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष तथा प्रशिक्षक नारायण खड्का लगाएतले समाजलाई सूसुचित र खवरदारी गर्ने पत्रकारहरु स्वतन्त्र तथा निर्भिकताका साथ अगाडि बढ्नु पर्ने बताएका छन् ।

तुलसीपुर वडा नं. ११ का वडा सदस्य सुवाश डिसीको स्वागत मनतब्यवाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरीले गरेकी थिइन । एक हप्ता सम्म चल्ने तालिममा वडाका ४५ जना युवा युवतीको सहभागिता रहेको छ । पहिलो दिन पत्रकार नारायण खड्का र वशन्त परियारले प्रशिक्षण दिएका थिए । वडा नं. ११ ले गतसाल पनि वडाबासीलाई यस्तै तालिम प्रदान गरेको थियो ।
