रुकुम पश्चिम,कात्तिक २४ । रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णयअनुसार रुकुम पश्चिममा शुक्रबारदेखि वितरण गरिँदै छ ।
रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो ।
सानीभेरीका मृतकका परिवारलाई शुक्रबारदेखि र आठबिसकोटका पीडितलाई शनिबारदेखि आर्थिक राहत वितरण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए ।
उनका अनुसार एकै परिवारमा एकभन्दा बढीको ज्यान गएको हकमा सुरुको दुई लाखमा अन्य मृतकअनुसार एक लाखका दरले थप रकम उपलब्ध गराइनेछ ।
नगद राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा पाँच करोड बजेट आइसकेको बताउँदै मृतकका कानुनवाला हकदारलाई वितरण गरिने बडुवालले बताए ।
जाजरकोटमा भने मृतकका परिवारले नगद राहत पाउन समय लाग्ने भएको छ ।
मृतकका कानुनी हकवालाको पहिचान, मृत्युदर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूर्ण गर्न बाँकी नै रहेकाले आर्थिक राहत वितरणमा केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।
अहिले राहत वितरणमै केन्द्रित भएको उनको भनाइ छ । जाजरकोटमा एक सय एकजनाको ज्यान गएको छ
