काठमाडौँ,जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन्।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको पनि बताए।
प्रधानमन्त्री दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ।
लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो। तर महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ।’
उनले संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा नगरेसम्म गणतन्त्र दिगो नहुने बताए।
‘संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन। साथै आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन। यसलाई मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ’, प्रधानमन्त्री दाहालले भने।
उनले गणतन्त्रमै वितृष्णा जगाउने कसरत भएको भन्दै ती कसरत कदापि सफल नहुने दावीसमेत गरे।
प्रधानमन्त्री दाहालले भने, ‘गणतन्त्रमै वितृष्णा जगाउने र संघर्षबाट प्राप्त उपलब्धीलाई उल्ट्याउने कसरत देखिएको छ। यी प्रयासहरु कदापी सफल हुने छैनन्।’
लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने उनको भनाइ छ।