काठमाडौँ,बैशाख २३ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्।
शनिबार बिहान काठमाडौँको बनस्थलीस्थित मानवसेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए।
उपप्रधानमन्त्री श्रेष्ठले मानवसेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज(भोलि नै गराउने पनि बताए।
उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रूपमा पनि लागिपर्ने प्रतिवद्धतासमेत जनाए।
मन्त्री श्रेष्ठले भने, ‘मानव सेवा जस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन र यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरोतर्फबाट व्यक्तिगत रूपमा पनि म सधैं तपाईहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु। अहिले म धेरै कुरा भन्न चाहन्नँ।
‘जसरी तपाईहरुले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको मान्छेको रूपमा आफ्नो पहिचान बनाउनु भएको छ। त्यस्तै गरी म कामद्वारा नै तपाईहरुको यो उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु। त्यसको निम्ति आज नै म सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा यसलाई कार्यसूची बनाएर म छलफल गर्नेछु’, उनले थपे।
श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए।
त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अबको २ वर्ष भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराए।