२०८३ असोज २८ गते बुधवार

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ,बैशाख ५ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन् ।

‘‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्युले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यहरुका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले लेखेका छन् ।

यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो ।

वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो ।

तर, मंगलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *