२०८३ बैशाख १६ गते बुधवार

उपराष्ट्रपति निर्वाचन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौँ ,फागुन २८ । उपराष्ट्रपति निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ।

निर्वाचन आयोगका अनुसार आज‍ दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ।

आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि हिजो फागुन २७ गते मनोनयनपत्र दर्ता एवम् मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित‍ गरिएको थियो।

आयोगका अनुसार आज मनोनयनपत्र तथा उम्मेदवारविरुद्धका उजुरी उपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको हो।

उपराष्ट्रपतिका लागि १० दलीय गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ।

प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन छन्।

त्यस्तै, रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन्।

त्यस्तै, १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेत्री ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन्।

यता, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट र रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *