काठमाडौँ,फागुन २५ । राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शितल निवासबाट बाहिर निस्किँदा सडक जाम हुने समस्या जनताले व्यहोर्न नपर्ने बताएका छन्।
बिहीबार जारी राष्ट्रपति निर्वाचनका लागि मतदान गरेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू निर्वाचित भए विगतमा जस्तो जनताले सास्ती नपाउने जिकिर गरेका हुन्।
‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ,’ उनले भने, ‘म राष्ट्रपति भएपछि शितलनिवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० बजेदेखि मतदान कार्य जारी रहेको छ।
राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट पौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
यतिबेला रामचन्द्रसहित केही शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।
निर्वाचन आयोगका अनुसार मतदान कार्य दिउँसो ३ बजेसम्म चल्नेछ र मतदान सकिएसँगै मत गणना गरी साँझ सात बजेसम्म नतिजा आउनेछ।