२०८३ बैशाख १९ गते शनिवार

सल्लाको खोटो बेचेर आम्दानी

दाङ, फागुन २२ । जिल्लाका सामुदायिक वन समूहहरूले सल्लाको खोटो विक्री गरेर आम्दानी गर्दै आएका छन् ।

जिल्लाका पहाडी क्षेत्रहरूमा रहेका सामुदायिक वन समूहहरूले जंगलमा रहेका सल्लाका रूखबाट उत्पादन हुने खोटो विक्री गरेर वार्षिक रूपमा लाखौँ रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।

एकातिर वन समूहले सल्लोको खोटो बेचेर आम्दानी गरेका छन् भने अर्काेतिर बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्नाले गर्मी मौसममा डढेलाका कारण सल्ला मर्दै जाने गरेको समेत स्थानीय बताउँछन् ।

वन समूहले सल्लाको खोटो विक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँका लागि खानेपानी तथा सामाजिक कार्यमा लगाउने गरेको बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहा मगरले बताए ।

सचिव गाहा मगरकाअनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिब दुई लाख ५० हजारसम्म मूल्यको खोटो विक्री गरेको छ ।

उनकाअनुसार वन समूहबाट दीपमाला रोजिन टर्पिन्टाइन कम्पनी बाँकेले प्रतिकेजी १२ रूपैयाँका दरले सल्लाको खोटो खरिद गर्ने गरेको छ ।

वन समूहका सचिव गाहा मगरकाअनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिब साढे २२ हजार केजी सल्लाको खोटो विक्री गरेको छ ।

‘जंगलमा रहेका रूखहरूबाट कम्पनीले प्रतिकेजी १२ रूपैयाँका दरले सल्लाको खोटो खरिद गरेको राजस्व तिर्ने गरेको छ’, सचिव गाहा मगरले भने, ‘वन समूहले अनुमति दिएपछि कम्पनीले मानिस लगाएर जंगलमा खोटो संकलन गर्ने गर्दछ ।’

खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुख्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने उनी बताउँछन् ।

‘रूखबाट कम्तिमा पनि १० वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ तर आगोले भेटेमा रूखै मर्ने सम्भावना हुने गर्दछ’, उनले भने, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट बचाउन भने ध्यान दिनुपर्छ ।’

यसैगरी वडा नं. ८ कै गोगनपानी समुदायिक वन समूहले सल्लाको खोटो विक्री गरेर आर्थिक आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहा मगर बताउँछन् ।

उनकाअनुसार सल्लाको रूखबाट बैशाख–जेठ महिनादेखि मंसिर–पुस महिनासम्म खोटो संकलन गर्ने गरिन्छ । ‘चिसो मौसममा कम खोटो आउने गरेका कारण गर्मी मौसममा खोटो संकलन हुने गरेको छ’, उनले भने, ‘खास गरी जिल्लामा सल्लाको खोटो संकलन करिब ६ देखि ७ महिनासम्म हुन्छ ।’

उनकाअनुसार वडा नं. ८ बाट ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा गरी तीनवटा सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुने गरेको छ ।

बंगलाचुली वडा नं. ८ का यी तीनवटा वन समूहहरू उदाहरणका रूपमा रहे पनि जिल्लामा दशवटा समुदायिक वन समूहबाट सल्लाको खोटो संकलन हुने गरेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीले बताए ।

केसीकाअनुसार दशवटा वन समूहबाट यस वर्ष करिब ९ लाख ३९ हजार २७ रूपैयाँको ७८ हजार २ सय ५६ केजी सल्लाको खोटो निकासी भएको छ ।

उनकाअनुसार वन खरिद गर्ने कम्पनीले समूहबाट खरिद गर्दा प्रतिकेजी १२ रूपैयाँ र निकासी कर प्रतिकेजी १२ रूपैयाँ तिर्ने गरेको छ ।

‘जिल्लाका करिब १० वटा वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो बाहिर निकासी हुने गरेको छ’, डिभिवन वन कार्यालय घोराहीका सूचना अधिकारी समेत रहेका केसीले भने, ‘जसअन्तर्गत् यस वर्ष दशवटा वन समूहबाट ७८ हजार केजी सल्लाको खोटो निकासी भएको छ ।’

विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रँग बनाउन कच्चापदार्थका रूपमा खोटो प्रयोग हुने गरेको छ । जसले गर्दा केही वर्षदेखि दाङका पहाडी क्षेत्रमा रहेका वनहरूबाट सल्लाको खोटो निकाल्ने गरेको स्थानीयबासी बताउँछन् ।

तर जंगलमा रूखको बोक्रा ताछेर खोटो निकाल्नाले पछिल्लो समय सल्लाका रूखहरू मर्ने गरेका छन् । खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुख्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सल्लाको खोटो बल्ने पदार्थ भएकाले आगो लाग्यो भने सोझै रूखको घाउमा आगो पसेर रूख मर्ने गर्दछ । रूखबाट आम्दानी लिने वन समूहकै मानिसले सल्लालाई आगोबाट बचाउन ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय दाङले बताएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *