अमरराज आचार्य, दाङ, फागुन १९ । उत्पादनभन्दा माग धेरै भएपछि लुम्बिनी प्रदेशमा वार्षिक २ हजार २ सय ७ दशमलव ८१ मेट्रिक टन माछा आयात हुने गरेको छ । लुम्बिन प्रदेशका अधिकांश जिल्ला माछा उत्पादनको लागि राम्रो मानिए पनि यहाँ माग र बजार धेरै भएको पशु सेवा तालिम केन्द्र नेपालगञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत डा.प्रवेशसिंह कुवरले बताए ।
प्रदेशका पहाडी जिल्लामा माछापालन कम भए पनि अन्य जिल्लामा भने राम्रो नै छ । उनकाअनुसार आर्थिक वर्ष २०७८/०८९ मा २ हजार २ सय ७.८१ मेट्रिक टन माछा आयात भएको छ । प्रदेशमा हुने उत्पादनले नपुगेर बाहिरबाट माछा आउने गरेको हो । खाने माछा १ हजार ९ सय २०.२४ मेट्रिकटन माछा आयात भएको पशु सेवा तालिम केन्द्र नेपालगञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत डा. कुवरले बताए ।
नेपालगञ्ज भन्सार नाकाबाट ३ सय ६१.४० मेट्रिकटन र वेलहिया नाकाबाट १ हजार ५ सय ५८.८४ मेट्रिकटन माछा आयात भएको थियो । सिद्रा माछा २ सय ८७.५७ मेट्रिकटन आयात भएको छ । जुन नेपालगञ्ज नाकाबाट २०.५० मेट्रिक टन र वेलहिया नाकाबाट २ सय ६७.०७ मेट्रिकटन आयात भएको उनले बताए । फिस मिल ७ हजार १ सय ५६ मेट्रिकटन आयात भएको छ । माछा दाना १ हजार ३ सय ९०।५१ मेट्रिकटन र पंगाल पेलेट दाना ६ मेट्रिकटन आयात भएको हो ।
‘अहिले पनि माछा यहाँको उत्पादनले नपुगेर बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘माछाको राम्रो सम्भावना भए पनि मागअुनसार उत्पादन भएको छैन ।’ विश्वमा प्रतिव्यक्ति माछाको खपत करिब २० केजी रहेकोमा लुम्बिनी प्रदेशमा प्रतिव्यक्ति ३।६ मात्र छ । आर्थिक वर्ष २०७६/०७७ को तथ्याङ्कअनुसार प्रदेशमा २ हजार ९ सय २ हेक्टरमा माछापालन गरिएकोमा १४ हजार ५ सय ३० मेट्रिकटन माछा उत्पादन भएको प्रमुख कुवरले बताए ।
उनकाअनुसार नवलपरासीमा २ सय २६.१३ हेक्टरमा माछापालन गरिने गरेकोमा १ हजार ८३.१ मेट्रिकटन मात्र उत्पादन भएको थियो । रूपन्देहीमा १ हजार १ सय ७.३३ हेक्टरमा माछापालन गरिएकोमा ६ हजार १ सय ६४.० मेट्रिकटन माछा उत्पादन भएको थियो । कपिलवस्तुमा ५ सय ५२ हेक्टरमा माछापालन गरिएकोमा २ हजार ६ सय ६७.६ मेट्रिकटन उत्पादन भएको थियो ।
बाँके जिल्लामा २ सय ७७.३४ हेक्टरमा माछापालन गरिएकोमा १ हजार २ सय ३२.३ मेट्रिकटन उत्पादन भएको थियो । बर्दियामा ४ सय २८.९ हेक्टरमा माछापालन गरिएकोमा २ हजार ४०.६१ मेट्रिकटन उत्पादन भएको थियो । पाल्पामा १६.९९ हेक्टरमा माछापालन गरिएकोमा ४८.४ मेट्रिकटन उत्पादन भएको थियो । दाङमा २ सय ५८.६७ हेक्टरमा माछापालन गरिएकोमा १ हजार २ सय १.७६ मेट्रिकटन उत्पादन भएको थियो ।
गुल्मीमा ११.५५ हेक्टरमा माछापालन गरिएकोमा ३१.१८ मेट्रिकटन उत्पादन भएको थियो । अर्घाखाँचीमा ६.७४ हेक्टरमा माछापालन गरिएकोमा १७.७९ मेट्रिकटन उत्पादन भएको थियो । प्युठानमा १०.८२ हेक्टरमा माछापालन गरिएकोमा २३.१५ मेट्रिकटन उत्पादन भएको थियो । रोल्पामा ४.७६ हेक्टरमा माछापालन गरिएकोमा ९.०४ मेट्रिकटन उत्पादन भएको थियो ।
प्रदेशमा मत्स्य पालनमा विभिन्न चुनौती रहेको समेत उनी बताउँछन् । मत्स्य रोगको पहिचान र उपचार, गुणस्तरीय दानाको उपलब्धता, मागवमोजिक भुराको उपलब्धता, कमजोर संरचना र जनशक्ति, प्रतिस्पर्धी बजार, बाढी, पहिरो, पानीको स्रोत सुक्दै जानु, कृषिकै अन्य क्षेत्रमा समेत आक्रमण, सुरुवाती लगानी बढी, व्यवस्थित माछापालनको अभाव, गैरकानुनी रूपले माछा मार्ने कार्यजस्ता चुनौती रहेको उनले बताए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुदाम भट्टले जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ६ सय ९ मेट्रिकटन माछा उत्पादन भएको जानकारी दिए । कार्प माछापालनबाट ३ सय ६० मेट्रिकटन, बैखा माछापालनबाट ३ सय ३७ मेट्रिकटन र प्राकृतिक जलाशयबाट १२ मेट्रिकटन उत्पादन भएको उनले बताए । जिल्लाको जनङ्ख्यालाई वार्षिक ३ हजार ३ सय ८१ मेट्रिकटन माछा आवश्यक पर्ने समेत उनले बताए । जिल्लामा ६ लाख ६७ हजार २ सय जनसङ्ख्या रहेको छ । प्रतिव्यक्ती वार्षिक ५ केजी माछा आवश्यक पर्ने प्रमुख भट्टले बताए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मत्स्यपालन कृषक र सरोकारवालहरूसँग कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले माछाको लागि राम्रो सम्भावना रहेको भन्दै यसको सदुपयोग गरेर अगाडि बढ्न आग्रह गरेका थिए । कृषकहरूले उत्पादनसँगै बजारीकरणमा ध्यान दिन समेत सहभागीको भनाइ थियो ।
कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुदाम भट्टको अध्यक्षता तथा पशु सेवा तालिम केन्द्र नेपालगञ्जका प्रमुख तथा बरिष्ठ मत्स्य विकास अधिकृत डा प्रवेशसिंह कुवरको प्रमुख आतिथ्यतामा भएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रेम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योजना अधिकृत कृष्णकुमार न्यौपानेले गरेका थिए ।